भगवान निर्जिव छन् ! • Image Khabar Image Khabar


भगवान निर्जिव छन् !


Imagekhabar
३१ श्रावण २०७७, शनिबार ०७:५८

भगवान निर्जिव छन् !

–डिएर एन

तेरो हातै नमिठो, तेरो साथै नमिठो । उ पल्लो घरमा हेर त अर्को विवाह गरेर छोरा जन्माए । तेरो यो घरमा के छ र बसिरहेकी छस ? आफ्नो बाटो लाग । सासुको गनगन सुन्दै झल्यास्स बिउझिँदा बिहानको पाँच बजिसकेछ । ओहो ! अब म कहाँ जानु ? कापीरहेको शरीर लिएर बाहिर ढोका खोल्न निस्किए । शरीर लगलग कापीरहेको थियो । मनभरी थुप्रै प्रश्नले खैलाबैला मच्चाइरहेको थियो । सपनामा पनि बाँच्नका लागि संघर्ष गरिरहेकी थिएँ म । अब पुनः मनोरोगको शिकार हुने संकेत देखा परिरहेको छ ।

मेरो मनमा उठेका थुपै्र प्रश्नहरुको जवाफ कसले दिन्छ होला ? बिहान ५ बजे उठेर घरको सरसफाई सक्दा मात्रै एक घण्टा बित्यो । छ बजिहाल्यो । गोठमा एउटा दुहुनो, एउटा ब्याउनी र एउटा सानो गरी तीनवटा गाईहरु छन् । दुहुने समय र घाँसपानी खाने बेला भएकोले उनीहरु बाँ–बाँ गरी पालैपालो कराउन थाले । अब कसरी सक्नु काम ? मनमा अत्यास भयो । घाँस काटनु छ, परिवारका सदस्यहरुलाई बिस्तारामै चियापानी पुर्‍याउनु छ, खाना बनाउनु छ, लुगा धुनु छ र १० बज्दा अफिस पनि पुग्नुछ । अफिस सकेर बेलुका ५ बजे फेरि ससुरा बुवाको घर पुग्नु र त्यहाँ भइरहेका केही काममा हात बट्याएर पुनः घर फर्किएर बेलुकाको खाना र जुठोभाँडो । रातको ११ बजेको शरीरले चाल पाउँदैन । जतिखेर पनि अबेर नै भइरहेको हुन्छ ।

यतिधेरै काम छन् । घरदेखि अफिस र अफिसदेखि घरसम्म । रोवर्ट जस्तै चलायमान मेरो शरीर र मेरो काम ! न त सासुले देख्छिन् न त श्रीमानले । मेरो दैनिकी र मेरो गतिशिल समय देखेर म आफंै चकित छु । अन्यौलताले धज्जी उडाएको मेरो एकलपन । बस् जिन्दगीमा एउटा वंशज उत्पादन गर्न नसक्नुका कारण मेरा सपना, मेरा चाहना, मेरा रहर, मेरा आफन्त, मेरो र मसँग जोडिएका सबै कुराहरु अचेल संवेदनाहीन बनेका छन् । मौनताले घेरिएका छन् ।

कामले थकान हुँदा शीर ढल्काउने ठाउँ छैन । त्यसमाथि माइती टाढा । एक्लोपन र अविश्वासले भरिएको एउटा चोइटिएको शरीर लिएर लखर लखर हिँडिरहेकी एकान्तमा कतै कसैले नभेट्ने गरी अलप हुने रहरले घेरेको छ अचेल । काम सक्नुपर्ने अभिलाषाले दिन बितिरहेका छन् । मेरो आफ्नो जीवन कता अलप भयो, मेरो हाँसो अनि मैले गर्ने ठट्यौलिले अरुलाई हँसाउथे । रमाउन सिकाउथे । साथीहरु भन्नेगर्थे, ‘तँ त डन होस् । देख्दा त्यस्तै लाग्छ, छाम्दा र बुझ्दा भने नौनी’ । तर अब यसरी समयले सम्भव देखाएन । मनलाई डन बनाउनुछ र नौनीलाई घ्यू बनाएर एक ढिक्का निकाल्नु छ । जति कमलो मन भयो त्यति च्यातिदो रहेछ । कसरी असम्भवलाई सम्भव बनाउने भन्ने कुराले मनमा अनेक विचारहरुले कोलाहल मच्चाइरहेका छन् । भौतारिनु दुःख बाढ्नु र साट्नु जिन्दगीका महाभूल गरेपछि मात्रै थाहा हुँदोरहेछ जीवन बाँच्नुको अर्थ । अर्काको घर मन्दिर बन्नुको अर्थ ।

जतिवटा कानुन लेखिएपनि, लागू भएपनि मेरो घरको तरकारीले कानुन मानेन । मैले बनाएको भान्साले निर्देशिका देखेन । मैले भरेको ड्रमको पानीले अधिकार बाँडेन । त्यसैले त होला मैले बनाएको खानाले मलाई गिज्याउछ र मेरी सासुको पेट भोकै रहन्छ । तरकारी मिठो पकाउन जान्दिन रे म । मैले बसी बसी खाने भएकोले गोठका गाईले दिएको दुध मेरो पानी खाने गिलासमा अटाउदैन रे । मैले बनाएको अचार कहिल्यै केही नदेखकोले बनाएको भएर मिठो भएन रे । अब मैले के गर्नु नपकाए म काम नगर्ने हुने पकाए उनको पेट नभरिने । त्रासैत्रासमा मेरा वर्षौ बिते ।
सासुलाई आमाको दर्जा चाहियो । मैले सकेको दिए । राती सुत्दा उनका गोडा र शरीर तोरिको तेलले मालिस गरेँ, उनका भित्री बाहिरी वस्त्रहरु धोएँ । सासुलाई आमा बनाएर उनले खाएका भाडा माझे । तर मलाई जन्म दिने आमाले मलाई आफ्ना भित्रि वस्त्र कहिल्यै धुन लगाइनन् । उनका कामहरु कहिल्यै गर्नुपरेन । नपढेका मेरा बाबाआमा छोराछोरीलाई पढाउनमै व्यस्त थिए । छोराछोरीले पढून् र आफूले जस्तै दुःख नपाउन् भन्ने उद्देश्य थियो । तर मेरो भागमा स्नातकोत्तर सकेर बाहिरी कामसँगसँगै घरका काम विश्राम नगरी सक्दा पनि अपजश खाइरहनु परेको छ । सासुका हरप्रकारका काम सक्दापनि मैले आमाको दर्जा दिइन रे ! उनलाई मिठो खान दिइन रे ! सासुलाई मिठो नलागे श्रीमान् खादैनन् । मुखमै नराखी हिड्छन्, तेरो ढंग के छ र भन्छन् । अब मैले के गर्नु ?

केही समयको बाहिर बसाइँपछि म घर फर्केको दुई महिना बित्नै लाग्यो । समस्य ज्यूका त्यूँ छ । कटाक्षले उठीबास लगाइसकेको छ । मैले खाना पकाए खादिनन् सासु । त्यसकारण हिजोआज सकेसम्म बाहिरी कामहरु गरेर अफिस जाने आउने गरेको छु । कमसेकम सासु भोकी नरहुन् भन्ने उद्देश्यले उनका तिता वचनहरुलाई पछाडी छोडेर लखर लखर हिँडीरहेको छु र बाँचेको छु । प्राण रहेसम्म उनलाई कहिल्यै केही भन्नु नपरोस् । भगवान् यो कहालीपूर्ण जीवनबाट कसरी बाहिर निस्कने ?

बुहारी निःसन्तान हुँदा सासुको यस्तो हुर्मत चल्छ भने त्यो घरमा बुहारी कसरी जिउँन सक्छे ? के उसले बाँच्न नपाउँनु ? के उसलाई बच्चा पाउने रहर छैन होला र ? के उसलाई सासुको प्रियपात्र र श्रीमान्को प्रियसी बनेर ढलीमली गरेर हिड्ने रहर छैन होला र ? समाज निर्दयी छ । संस्कार निर्दयी छ । रहर छ मलाई पनि प्यारा राम्रा छोराछोरी जन्माएर स्तनपान गराएर मातृ सुख लिने । इच्छा छ मलाई मेरो साथी बनाउने । महत्वाकांक्षा छ मलाई वंश वृद्धि गर्ने ।

मेरो मनको रहर बाहिर छताछुल्ल भई शरीर औषधोपचारले आधा बनाइसक्दा पनि किन अपहेलना र अभद्र व्यवहार गरिन्छ ? पर सरेको त झन् थाहा पायो कि कस्तो भाडो बनाएर पठाइछन् तेरी आमाले भनेर मलाई जन्म दिने आमालाई पोल्न पनि पछि पर्दिनन् सासु । बाउ गतिलो भएपो छोराछोरी गतिलो हुन्छ भन्छिन् । उनका शब्दहरु वाण जस्तै छन् । मर्नु न बाँच्नु बनाउछन् । अब कसरी जिउँने ?

खेतबारीमा लगाएका तरकारी मैले टिप्नु हुँदैन । पाकेका मकै मैले भाँच्नु हुँदैन । फलेका काँक्रा मैंले टिपेर ल्याउनु हुँदैन । तर खेतबारी खन्ने र लगाउने काम मैले मरीमरी गर्नुपर्छ । पसिनाले माटो भिजाई मरीमेटेर खन्न र लगाउन हुने, तर फलेका चिजहरु टिप्न नहुने ? अनौठो लाग्ने कुरा छन् मेरी सासुका ! त्यो पनि ठीक छ, मैले लगाएका उनैले टिपुन् र पकाउन् । कुनै गुनासो रहेन यसमा । तर उनी नभएको बेला कसले दिन्छ र मैले खानु ? म त निःसन्तान मान्छे । मैंले छोएको उनलाई चल्दैन । उनी विटुलो हुन्छिन् । अब कसो गर्ने होला ?

मलाई नदेख्दा डोकोभरी मल बोकेर हिँड्ने उनी देखेपछि थकै लाग्छ, सुस्केरा आउँछ र धौ हुन्छ । मैले बनाएको भोजन नगर्ने सासुले बनाएको मिठो मानेर खाइदिन्छु । उनले दिएको भोजन चुपचाप खाएर उठ्दा उनी झन् चिट्चिडाहट हुन्छिन् । चर्केर बोल्छिन् । आउनुभयो, जानुभयो, तपाईले यस्तो खानुस् भनेर झर्कोफर्को देखाउछिन् । अब मैंले कसो गर्नु ? खानु कि भोकै मर्नु ?

मेरी सासुका अगाडि जे गरेपनि उनी सन्तुष्ट छैनन । यसरी मनभरी असन्तुष्टीका पोकाहरु खातै खात लगाएर बसेपछि कसरी मिठो होस् तरकारी ! बिस्तारै बानी परिसकेको छ अचेल शान्तिसँग जिउने । एक कानले उनले भनेका कुराहरु सुनीरहन्छु र अर्को कानबाट फ्याकिदिन्छु । जवाफ दिनुपर्ने भएपनि चुपचापै बसिदिन्छु । कुरा फर्कायो भने श्रीमान् झर्किन्छन् । रिसाउछन् । जहाँ गए जाँ मेरी आमासँग नबोल भनेपछि म चुप्पै लाग्ने बानी बसाएको छु ।

घरको छेवैमा एकजना दिदीले आत्महत्या गरेको ५ वर्षजति बित्यो । उनका दुई छोरी छन् तर छोरा नजन्मिएको भनेर मानसिक दवाव सिर्जना भइरहेको थियो उनलाई । डिप्रेसनको औषधी खाएको छ महिना नबित्दै गलत बाटो अपनाउन बाध्य भइन् । त्यसको लगत्तै श्रीमान्ले एक ठाउँ घरबार बिग्रेको महिलासँग विवाह गरे र छोरा जन्माए । अचेल मेरो जीवनलाई उनीहरुसँग तौलिने बानी परेको छ मेरी सासुलाई । उनका नजरमा उनीहरु महान् बनेका छन् । तर म त मर्न सकिन । पल पल मरेर जिएको छु । अब कतिञ्जेल बाँच्ने यसरी ?

कुरा ठूलो छैन र पनि एउटी निसन्तान बुहारीलाई दिने मानसिक दवावले उसका रातभरका छट्पटी, अनिद्रा र भोको पेट कसले देख्ने ? नओवाएका र सुन्निएका आँखामा हेर्ने कसले ? श्रीमान्लाई त उनकी श्रीमती मन पर्न छोडेको छ । अर्कै ल्याउने लालसामा जिइरहेका छन् । दाजुभाई दिदीबहिनी मिलेर अर्कै खोज्दैछन् र म विरानो हुँदै गइरहेको छु । तर मैले केही गल्ती गरको होइन । मेरा भगवान् निर्जिव छन् र त आज एक्लो परेको छु …..।

प्रतिक्रिया दिनुहोस्