विषादीको खेती • Image Khabar Image Khabar


विषादीको खेती


Imagekhabar
२९ श्रावण २०७७, बिहीबार १४:२३

Tomato poision farming agriculture arjunmani

अर्जुनमणि आ.दीक्षित

“खोल्सामा झरेका गोलभेँडा गाईभैँसीलाई खुवाउने त होला नी ? यस्तो चिसो ठाउँमा गर्मी महिनामा बाटोमा हिडनेले कति त काँचै पनि खाइदिँदा होलान् नी ?”

पहाडको उकालीमा रमाइलो मान्दै हिंडिरहेका हामीमध्ये एकजनाले सडक छेउ मै लटरम्म गोलभेँडा फलेको, खोल्सामा झरेका गालभेँडाका राता दानाहरु अनि राताम्यै देखिएको खेतवारीमा गोडमेल गरिरहेकी एक जना महिलालाई यो प्रश्न सोधेका थियौ । प्रत्युत्तरमा महिलाकै मुखबाट झरेका लवजहरु यस्ता थिए, “कसैले पनि यिनी गोलभेंडाहरु काँचै टिपेर खादैनन्, यसमा औषधि हालेको छ । औषधि हालेको फल खुवाएमा गाइवस्तु पनि विरामी पर्दा रहेछन् । घरका केटाकेटीलाई पनि “खायौ भने तिमीहरु मर्छौ” भनी तर्साएका छौं, अब त बुझ्ने भैसके ”

चारदेखि पाँच फिटसम्म अग्लो बाँसको कप्टेरोले थाक्रो दिएर लहरै ड्याँगमा उम्रेका गोलभेँडाको खेती लटरम्म देखिएपछि रहरलाग्दो नदेखिने कुरै आएन । चिसो मौसममा सुकेका भ्यांगको बीचमा राताराता गोलभेँडा फलेको मात्र होइन, ड्याँगको बीचको खोल्सोमा तिनै राता गोलभेँडाका डल्लाहरु निकै संख्यामा झरेका पनि थिए, रुखको फलपूmल पाकेर जमिनमा झरेको जस्तो । आँखाले देखुञ्ज्याल फराकिलो खेतमा राताम्यै देखिने गोलभेँडाको खेती, बडो मनोरम दृश्य थियो । सरदर आलुभन्दा केही ठूला गोलभेंडाहरु छामेर हेर्दा अलि बढी नै सारो महसुस हुन्थ्यो । यो दृश्य हेरी रमाएका हामीलाई ति महिलाले दिएको जवाफ सिरिंग पार्ने खालको थियो ।

“औषधि नहाले के हुन्छ ?” “औषधि नहालेको खण्डमा फल्दै फल्दैन, फलिहाले पनि कालो हुन्छ, खानै मिल्दैन, बेच्न पनि मिल्दैन । औषधि फेरी एकपटक हालेर पुग्दैन, एक झमठ गोलभेँडा टिपिसकेपछि, अर्को बाली लगाउनु अघि यी सबै झ्यांग र भूइँमा झरेका गोलभेंडाहरु जलाएर मात्रै नयाँ बिरुवा रोप्न ड्यांग मिलाउँछौ अनि बिरुवा रोपेपछि फेरी औषधि नहाली हुँदैहुदैन ”

धरान धनकुटा बाटोमा मूलघाट तरेपछि ठाउँठाउँमा पोलिथिन प्याकमा गोलभेँडा बेच्न राखेको देखिएको थियो । एक वा दुई किलोको प्याकको अर्डर बस भित्रैबाट दिन मिल्ने, बसको भ्mयालबाटै गोलभेँडाको पारदर्शी पोलिथिन ब्याग लियो अनि भ्यालबाटै पैसा दियो, कति सजिलो । हाटबजारमा पनि थुप्रोका थुप्रो गोलभेँडा बेच्न राखेको थियो । बसमा बसिबसी किन्ने मोल र हाटवजारमा किन्ने मोलमा धेरै फरक पर्दोरहेनछ । एउटा बोटमा आठ किलोसम्मको गोलभेँडा फल्ने कुरा स्थानीय बासिन्दा भन्थे । गोलभेँडा बाह्रैमास फलाउन सकिने तरकारी रहेछ । धनकुटाभरी करिब करिब सबैजसोको जग्गामा गोलभेँडा खेती गर्ने गरेको कारणबाट उत्पादन प्रशस्त हुँदा पनि बजारको समस्या महसुस भएको देखिएन । दक्षिणमा जोगबनी हुदै र पूर्वमा काकड्भिट्टा हुँदै भारतसम्म दिनहुँ गोलभेँडाको खेप ओसारिने गरेको रहेछ ।

महिलाको फुटेका हातलाई देखाएर हामीले सोध्यौ, “औषधि हाल्दा हातमा पञ्जा लगाउने गरेको छैन ?” आप्नो हात हेर्दै उनले भनिन्, “खेतबारीमा काम गर्ने मान्छेको हात यस्तै त हो नी !”
औषधि छर्कदा मुखमा मास्क लगाउनु पर्ने अनि हातमा पञ्जा लगाउनु पर्ने कुरा अहिलेसम्म कसैले सल्लाह दिएजस्तो लागेन । किसानको औषधि किन्ने ठाउँ गाउँठाउँकै वा जिल्ला सदरमुकामको भेटेरिनरी पसल रहेछ । भेटेरिनरी डाक्टरले दिनुपर्ने सल्लाह र प्रयोग गर्नुपर्ने औषधि एवं औषधिको मात्राका बारेमा पसलेलाई नै विश्वास गर्नुपर्ने प्रचलन भनौ वा बाध्यता रहेछ । मास्क नलगाएको कारणबाट किसानको श्वासप्रस्वासमा पारेको असर त भोलिका दिनमा डाक्टरकहाँ जानुपर्दा मात्रै यी विचराहरुलाई थाहा हुने भो, तर पञ्जा नलगाएको कारणबाट हातको छाला फुटेको चाँहि किसानले पचाइसकेको जस्तो लाग्यो ।

गोलभेँडा खेतीका बारेमा यति कुराको अनुभूति गरेपछि झट्ट मनमा उब्जने तीनचार वटा कुरामध्ये घरको भान्सामा गोलभेंडा पोलेर बनाएको वा सिसीमा हालेर बनाएको अचारको परिकार, आयातित प्रचलन अनुसार पार्टीमा सजाएर राख्नुपर्ने “सलाद” मा मिसिएको काँचो गोलभेँडा अनि घरका केटाकेटीले पाउरोटी (वर्गर) काबीच भागमा राखेको काँचो गोलभेँडाले सबैको मन बिझाउने नै भो । कुखुरा होस् वा खसी, मासुमा गोलभेँडा नहाली कुनै पनि परिकार बन्दैन भन्नेलाई त झनै मन सिरिंग हुँदोहोला ।

कृषक पेशा खेतीमा, अनि खेती जमिनमा निर्भर रहने सर्वविदितै कुरा हो । खेतीको लागि खेतबारीको उर्वराशक्ति घट्दै गयो भने किसानको जिविका मै गहिरो असर पर्दछ । आजसम्म किसानले जे कुरालाई “औषधि” मानेका छन् त्यो वास्तवमा औषधि होइन, “विषादीयुक्त रसाउन” हो, यसले माटोको उर्वराशक्ति क्रमशः डढाउँदै जान्छ भन्ने कुरा नबुभ्mदासम्म समस्याको समाधान पहिल्याउन सजिलो छैन । विषादीलाई औषधि मानेर मलखादको रुपमा निरन्तर प्रयोग हुँदै आएको यतिका अवधि बितिसकेको छ ।

यतिञ्जेलसम्म कृषकले बुभ्ने भाषामा यो गर्नुहुने अनि यो चाहिँ गर्न नहुने भनी सरकारीस्तरमा प्रचारप्रसार नहुनुलाई अत्यन्त खेदजनक मान्नुपर्ने हुन्छ । खाना खानुअघि साबुनले हात धुनुपर्दछ भनी टेलिभिजनबाट आउने विज्ञापन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्रायोजित गर्न मिल्ने अनि खानेकुराको विषादी प्रयोगका बारेमा जनताको चेतना अभिवृद्धि गर्ने कामकुरामा चुँ नबोल्ने सरकारी रवैयालाई विडम्वनापूर्ण मान्नुपर्दछ । राजनीति गर्ने आडमा भारतले विषादी परीक्षण गर्न दिएन भनी कोकोहोलो गर्ने गैरसरकारी संगठन एवं राजनीतिक दलको व्यबहार पनि बद्नियतपूर्ण रह्यो । आप्नै घरआँगनमा निरीह किसानले विषादीको व्यापार गरेको यिनको जानकारीमा नआएकै होला त ? जनताको जिउज्यानको सुरक्षा गर्छु भनेर सिंहासनमा बस्ने सरकारबाट यो तथ्य लुकेको होला भनी कसरी लख् काड्नु ? यतातिर सरकारले पुरै आँखा चिम्लेर बसेको प्रतित भएको छ ।

प्रस्तुत विषयमा जति मात्रामा सरकार दोषी छ त्यति नै वा त्योभन्दा बढी गैरसरकारी संगठन एवं राजनीतिक दलहरु दोषी छन् । कहिलेकाहिँ मिठाइ पसलमा वा किराना पसलमा अखाद्य मिसिएको खानेकुरा वा म्याद गुज्रेको खाद्यवस्तु बजार निरीक्षणको क्रममा फेला परेको भनी सरकारले हल्ला गरेको नसुनिएको होइन, तर कसैले कारवाही भोग्नुपरेको आजसम्म सुनिएको छैन । यो विषयमा गैरसरकारी संगठन एवं राजनीतिक दल मौन बसेको कुरा जनताले हेक्कामा राखेका छन् ।

केही वर्ष अघिसम्म अर्थात किसानको खेतबारीमा कम्पोष्ट मलको प्रयोग गर्दासम्म जनसमाधारणको स्वास्थ्यमा कुनै किसिमको जोखिम देखिएको थिएन । किरा लागेको अवस्थामा किराफट्यांग्राबाट बचाउनका लागि घरेलुस्तरमा तयार पारिने टिम्मुरको पात र नीमको पातको झोल बनाइ छर्कने, गाईको गहुँत छर्कने आदि वा आ आप्नै तरिकाबाट तयार भएको औषधिमूलोबाट हुनेगरेको काम नै प्रभावकारीे थियो । विस्तार विस्तार कम्पोष्ट मल कम मात्रामा उपलब्ध हुन थाल्यो, नीमको पात अनि गाईको गहुँत भनेजति पाइन छोड्यो । वैकल्पिक उपाय अपनाउन किसानलाई अप्ठेरो पर्न थाल्यो वा सम्भव भएन ।

यहाँदेखि बढी उबजाउको लोभमा किसानको युरिया मलप्रतिको आकर्षण बढ्न थालेको हुनुपर्दछ । अहिले त युरिया मलको प्रयोग तरकारीको हरियोपना देखाउनका लागि मात्र प्रयोग हुँदोरहेछ । अहिलेको अवस्थामा DAT (मसिनो दानायुक्त मल) को प्रयोग गर्न थालिएको पनि देखियो । यसको अतिरिक्त बजारमा खुल्लमखुल्ला अनि जति मात्रामा चाहिए पनि किङस्टार धुलो र झोल, M:95 धुलो, साइबर मेथिन झोल, अल्फा मेथिन झोल, रियल स्टार धुलो, किङ रकेट धुलो, त्रिकाल झोल, किङ मियल धुलो, किङसिङ M आदि विषादीहरु किन्न पाइने रहेछ । यिनै औषधि (विषादी) किसानको खेतवारीमा निर्वाध रुपमा प्रयोग भैरहेको छ । तोकिएको मात्रा ननाघ्ने गरी प्रयोग गर्दा यी विषादीलाई “विषादी” नभनौ भन्ने भनाइ खेतीकिसानी गर्नेको रहेको छ ।

यसलाई उदाहरणको रुपमा भन्नुपर्दा रियल स्टारको धुलो १६ लिटर पानीमा ५ ग्रामसम्म हाल्न मिल्ने तर १६ लिटर पानी मै १० ग्रामसम्म हाल्यो भने उहाँहरुकै भनाइमा त्यो शुद्ध विष हो । यसरी मुखले चाहिँ धेरै मात्रामा प्रयोग गर्नु विषादी हो भन्ने तर्क गर्दै थोरै प्रयोग गर्नु हाम्रो बाध्यता हो भन्न जानेका किसानले नै आप्नो खेतबारीमा विषादी छर्किरहेका छन् । शुरुमा अमुक फसलको लागि अमुक ब्राण्डको विषादी प्रयोग गर्ने र अमुक मात्रामा प्रयोग गर्ने तरिका किसानले भटेरिनरी औषधि पसलबाटै जानकारी लिने गरेको देखियो । पसलबाट पाएको जानकारीको आधारमा प्रयोग गरेको (औषधि?) विषादीबाट किसानको खेतबारीमा वाञ्छित फसल भएन भने किसानले विषादीको मात्रा आप्नै तजबिजमा बढाइरहेका रहेछन्, यसरी मात्रा बढाउनुलाई स्वाभाविकै भन्नै पर्यो ।

औषधि नहालेको खण्डमा फल्दै फल्दैन, फलिहाले पनि कालो हुन्छ, महिला कृषकले भनेको माथिको प्रसंगमा “रियल स्टार” को धुलोको मात्रा बढी भएमा दाना कालो हुने र फल कुहिने कुरालाई एक अर्कामा गाँस्दा वर्तमानमा किसानले औषधिको प्रयोग बढी मात्रामा गरिरहेका रहेछन् भन्ने कुरा प्रमाणित भएको छ । यसरी मात्रा बढाउँदाको जोखिमबारे किसानलाई बुझाइदिने कोही नहुने हो भने यसको असर भयावह हुँदै किन नजाओस् ? यसलाइ पनि स्वाभाविक रुपमा लिनुपर्ने भो ।

नबिर्सौ, यो समस्या धनकुटाको मात्र होइन, समग्र पूर्वी पहाडी भेकमा सबैले ब्यहोरेको हुनुपर्दछ । यति कुराको जानकारी भएपछि सरकारले प्रथमतः प्रत्येक दलहन, तेलहन, अन्न तथा तरकारीमा विषादीको मात्रा र मापदण्ड तोक्नै पर्ने भो । त्यसपछि मापदण्डभन्दा बढी प्रयोग गरेको जतिमा चेकजाँच गर्नुपर्यो अनि बढी प्रयोग गरेको अवस्थामा दण्ड सजायँ पनि गर्नुपर्ने भो । यस्तो भयावह असरका बारेमा सरकारलाई जानकारी हुँदाहुँदै समस्या समाधानको लागि पहल गरिदैन भने यसबाट हुनजाने जनताको जिउज्यान माथिको हदैसम्मको खेलाँची क्षम्य हुदैन । लोककल्याणकारी राज्यमा यसो हुनु हुँदैनथ्यो ।

मुलुकमा प्रचलनमा रहेको कानुन विपरित निजी जग्गामा लगाएको गाँजा फडान गर्न सकिन्छ भने तोकिएको मात्राभन्दा बढी विषादी मिसाएको अपराधमा दण्डित गर्न नमिल्ने पनि हुँदैन । गाँजा फाड्न सजिलो विषादी नियन्त्रण गर्न खेतबारीपिच्छे चेकजाँच गर्न गाह्रो हुन्छ भन्ने कुराको आडमा यसलाई सरकारले भैगयो भन्ने महसुस गरेको छ भने त्यो सर्वथा अनुचित हो । अहिलेकोे अवस्थामा सरकारको रवैया हेर्दा त सरकार आफैले अनियन्त्रित रुपमा विषादी प्रयोग गर्न बढावा दिए जस्तो पो प्रतित भएको छ ।

सरकारले गर्नुपर्ने काम समयमै नगरेको भनी हामीले एकातिर दोषारोपण गरिरहने अनि सरकारचाहिँ सबै कुरा जानीबुझिकन पनि केही नगरी बसिरहनुलाई सरकारको अकर्मण्यता मान्नुपर्दछ । यसबाट जनताको जिउज्यानमा परिरहेको प्रतिकूल असरबारे सबै तैँ चुप मै चुप बस्नु एक किसिमको अपराध मात्र होइन, पाप नै हो । संघीय संरचनामा जनताको दैनिकीसँग सम्बन्धित कामहरु हाम्रो दैलोमा अर्थात स्थानीय तहमै सम्पादन होस भनी सरकारको उपस्थिति रहेको अहिलेको अवस्थामा पनि यी कुराहरु सम्बोधन भएन भने यसलाई बिडम्वनापूर्ण मान्नुपर्दछ । हाल सरकारी तलव खाएर हाम्रै वरिपरी कृषि विज्ञ छन् जसले विषादी भनेको के हो, विषादी र औषधिमा के फरक छ, यसको प्रयोग वा सेवनले पार्ने असर कस्तो हो, के गरे वा नगरेमा यसको असर कस्तो रहन्छ आदि कुराहरु आधिकारिक ढंगले बुझाइदिने हैसियत राख्दछन् ।

यिनको प्रत्यक्ष संलग्नताबाट प्रभावकारी ढंगले प्रचार प्रसार हुने हो भने त्यसैको फलस्वरुप किसानको चेतनाको स्तर उकासिन्छ । किसानले आफै आश्वस्त भै के गर्दा ठीक वा वेठीक छुट्याउने अवस्थामा पुगेको अर्थात विवेक प्रयोग गर्ने अवस्थामा पुग्दाको अनुभूतिले किसान आफै चेतनशील हुने मात्र होइन, आप्नो वरिपरी गाउँठाउँका वासिन्दालाई के गर्नुपर्ने र के गर्न नहुने बुझाइदिने हैसियत पनि राख्दछ । त्यसैले अहिलेको आवश्यकता भनेको किसानलाई उसको अज्ञानताले गर्दा आप्mनै जिविकाको स्रोत अर्थात जानाजानी माटोको उर्वरा शक्ति नष्ट गरिरहेको कुराको अनुभूति दिलाउनु हो । साथै किसानले वैयक्तिक रुपमा जानी वा नजानी गरिरहेको खेती सम्बन्धी व्यबहारले क्रेताको रुपमा रहेका जनताले विषादी सेवन गरिरहनु परेको तीतो सत्यको अनुभूति दिलाउनु पनि हो । यो कुरा सरकारीस्तरबाट हुने सम्भावित दण्डको माध्यमबाट उब्जने त्रासबाट मात्र सम्भव छैन । किनभने त्रासको भरमा भए गरेको कामकुरा दिगो हुदैन ।

हाम्रो उद्देश्य किसानको मनमा के उपयुक्त र के अनुपयुक्त भन्ने कुराको छाप मनोवैज्ञानिक ढंगले अमिट रुपमा छोड्नु रहेको छ । हिजोसम्म हामीभन्दा माथिको पिंढीलाई गाउँघरको शुद्ध खानेकुरा एवं दुधदही खाएको शरीर भनी हमी तन्दुरुस्त मान्थ्यौ । कतिपय बुढाहरु आप्नो शरीर तन्दुरुस्त राख्न सकेकोमा गर्व गर्ने हामीमध्ये जिवितै छन् । हाम्रा सन्तानचाहिँ अहिले केटाकेटी उमेरदेखि नै विषादी सेवन गर्न बाध्य हुन्छन् भने भोलि यिनको के गति होला ? रोगी पिंढीका रुपमा बाँच्न बाध्य यिनले आप्नो सुरक्षा कसरी गर्लान् ? परिवार कसरी हुर्काउँलान् ? समाज र मुलुकको विकासमा के योगदान देलान् ? कहालिलाग्दो स्थितिको अनुभूति सबैलाई हुनुपर्ने हो ।

मेरा सन्तान निरोगी हुन् भन्ने चाहना सबैलाई हुन्छ । निरोगी रहन के गर्नुपर्छ अनि के गर्नु हुन्न अलिकति सरकारले सिकाइदिनु पर्यो अलिकति आफै जान्नुपर्ने भो । त्यसो भनेर सरकारीस्तरबाट नियम कानून बनाउने, मापदण्ड तोक्ने, दण्ड सजायँको ब्यवस्था गर्ने आदि कामकुरालाई अलग्याउन खोजेको अर्थ नलागोस् । सरकारले निरोधात्मक ढंगबाट गर्नुपर्ने आप्नो काम पनि गर्दै जानुपर्यो र त्योभन्दा पनि बढता प्रतिकारात्मक रुपमा जनताले बुभ्ने गरी विषादीको असर र रोकथामका बारे उपयुक्त ढंगले अघि बढाउँदै जानुपर्ने भयो । यो काम निकै अघिनै प्रारम्भ गर्नुपर्ने थियो । जे होस, राम्रो काम जहिल्यै शुरु गरे पनि त्यो यथासमयमै गरेको ठहरिन्छ । अबचाहिँ अबेर नगरौँ !

प्रतिक्रिया दिनुहोस्