कोरोना संक्रमित घरमै, ‘ओपीडी’ बन्द गरेर डेढ दर्जन चिकित्सकहरु हिँडे काठमाडौं • Image Khabar Image Khabar


कोरोना संक्रमित घरमै, ‘ओपीडी’ बन्द गरेर डेढ दर्जन चिकित्सकहरु हिँडे काठमाडौं


Imagekhabar
२८ श्रावण २०७७, बुधबार १५:२६

corona sunsari

आरपी आचार्य (इमेज)

सुनसरी, साउन २८ । कोरोनाभाइरसको महामारी फैलिएको धरानमा संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर विशेषज्ञ चिकित्सकहरु काठमाडौं गएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘ओपीडी’ सेवा बन्द गरेर चिकित्सकहरु काठमाडौं गएपछि हजारौं बिरामी उपचार गराउनबाट वञ्चित भएका छन् ।

सरकारले सभा, सम्मेलन र भिडभाड हुनेगरी कुनैपनि कार्यक्रम गर्न प्रतिबन्ध लगाएको भएपनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ३० गते सिनेट बैठक बोलाएको छ ।

सिनेट बैठकमा भाग लिनका लागि भन्दै प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर प्रतिष्ठानका डेढ दर्जन चिकित्सकहरु काठमाडौं गएका हुन् ।

प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहलगायतका डेढ दर्जन चिकित्सक काठमाडौं गएका हुन् ।

चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर काठमाडौं हिँडेपछि प्रतिष्ठान आउने हजारौं सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ ।

प्रतिष्ठानका पदाधिकारीसहित दर्जनौं चिकित्सकहरुले कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्न छाडेर जानु गैरजिम्मेवारीपन देखाएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताउनुभएको छ ।

सिनेट बैठक बोलाएपछि कोरोनाको महामारी जारी रहेकाले तत्काल स्थगित गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई लिखित आग्रह गरेपनि अटेर गरिएको मेयर राईको गुनाासो छ ।

हाल बीपी प्रतिष्ठानमा १०० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकहरु रहेका छन् ।

अस्पतालले आकस्मिक सेवा भने दिइरहेको छ ।

प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना नगरेका कारण धरानका १८ संक्रमितहरु घरमै छन् । यसले समुदायमा अझ संक्रमण फैलाउने त्रास बढेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्