
-सन्जिव कार्की
देशमा यति धेरै असन्तुष्टि छ, निरशा छ, बेथिति र बिसङती छ । तर आशाको उज्यालो बोकेर जाने ठुलो नैतिक तागतको खाँचो छ । एक दुई पटक चुनाव हार्नु ठुलो कुरा थिएन तर चुनावसंगै नैतिकता इमान र जमान पनि पार्टीहरुले हार्नु चै नेपाल र नेपाली को दुर्भाग्य नै मान्नुपर्छ । मुलुकको कुना कुनामा जागृतिको रक्त सन्चार गर्ने संरचना भएको पार्टीमध्ये नेपाली काङ्ग्रेस सबैभन्दा पुरानो र गर्विलो इतिहास भएको पार्टी हो । तर गर्विलो इतिहासको ब्याजले बर्तमान र आगत जहिल्यै भरिभराउ हुन सक्दो रहेनछ ।
पिता पुर्खाको कर्मले दिने यश र इमान पहिचान र इनाम सायद काङ्ग्रेसले खोजे भन्दा बढी असुल गरिसक्यो । अब बर्तमानमा जसले जस्तो कर्म गर्ने हो उसले आफ्नो कर्म अनुसारको फल प्राप्त गर्ने रहेछ । काङ्ग्रेस अहिले आफ्नो कर्मको फल भरपुर चाख्दै छ । कर्मको फल आफ्नो रुचिको स्वाद अनुसार जहिल्यै पाइदैन त्यही आफ्नो अरुचीको स्वाद जेनतेन येन प्रकारेण काङ्ग्रेस मुख अमिलो बनाउँदै खान अभिशप्त छ । देशभर सन्जाल छ तर नेतृत्वदायी भुमिकामा रहनेको अनुहारमा निकट अतितको दुर्गन्ध अकर्मण्यता र अनुत्तरदायी शैली र कुकर्म मेटिएको छैन । कुन रुप र अनुहारलाई विश्वास गरेर जनता काङ्ग्रेसको भर परुन ? सरकारले निराश बनाएको जनता जगाउने कुनै आसाको ज्योति छैन अरु विपक्षी पार्टीमा ।
कस्तो र कत्रो बिडम्बना ? पुराना पार्टी तिनका संस्कार र संस्कृति भन्दा भिन्न भएर कोही नयाँ पार्टी उदाउने र देशब्यापी संजाल बनाएर एकैपटक देश झन्कृत बनाउने ल्याकत प्रदर्शन गर्न सक्दैनन् । नाममा नयाँ छन, शैली रूपमा नयाँ देखिन्छन् सारमा उही पुरानै झल्को र हस्को । विचार र अवधारणामा नयाँ भएनन् फलतः पुराना पार्टी नै विकल्प भित्रको बाध्यतात्मक विकल्प बने । काङ्ग्रेसको विकल्प कम्युनिस्ट, कम्युनिस्टको विकल्प काङ्ग्रेस । यो दुई दलिय सिन्डिकेट विगत तीस वर्ष देखि अनवरत नेपाली जनता बिच लादिएको छ । जनता चाहेर पनि नयाँ विकल्प रोज्न सक्तैनन् । नजित्ने या जीतको नजिक नभएको पार्टी र उम्मेद्बारलाई भोट हालेर विकल्पको लागि तयार भएको सन्देश दिन तयार छैनन् नेपाली जनता । नजित्ने उम्मेद्बारलाई भोट गरेर अरु पार्टीलाई नैतिक दवाव सिर्जना गर्ने सिर्जनात्मक चेत जनतामा विकास भएको छैन । त्यसैले आलोपालो काङ्ग्रेस–कम्युनिस्ट नेपाली जनताको शासक बन्छ्न । सेवक बन्ने नैतिक चेत पार्टीहरु भित्र खडेरी परेको छ ।
तसर्थ पार्टी मुख्य दुई दल कहिल्यै आफूलाई सुधार्ने र परिस्कृत गर्न जागर गर्दैनन् । यो पटक चुनाब हारेर के भो अर्कोपटक त उताको भोट यता सरिहाल्छ भन्नेमा ढुक्क छन । देखिन्छन् तर सधैं यहि तरिका अब काङ्ग्रेसको हकमा लागू नै हुन्छ भन्ने मुर्खता काङ्ग्रेसको लागि पुनः घातक हुनेछ । मार्ने भए पछि तँलाइ ढुङ्गाले किचेर मारेको राम्रो कि भिरबाट लडाएर मारेको भनेर मारिनेलाई रोजाए झैं भएको छ काङ्ग्रेस–कम्युनिस्ट रोजाइ नेपाली जनताको लागि । चितुवाको झम्टाइ भन्दा भालुको चिथोराइ सहन सजिलो हुन्छ भन्ने भ्रम जस्तै देखिन्छ हरेक निर्वाचन पछिको परिणाम । जनताको छनौट पनि विकल्प नभए नदेखिए पछिको रिजल्ट यो भन्दा फरक आओस पनि कसरी ?
काङ्ग्रेस अहिले जागरण अभियान समाप्त गरेर भर्खरै विश्राम गर्दैछ । तर जागरण, जाग्राम, जागृति, जोस जाँगर जे भने पनि त्यो शुरु गर्नुपर्ने पहिलो र महत्त्वपूर्ण स्रोत या मूल भनेकै काङ्ग्रेसको मुहान अर्थात केन्द्र हो । केन्द्रिय पदाधिकारी र नेतृत्व गण हुन । दुर्भाग्य काङ्ग्रेस त्यसो गर्न सक्तैन आफ्नो जागृतिको नेतृत्व आफैं गर्न असमर्थ छ । देशका सबै र महत्वपूर्ण परिवर्तनको हिजोसम्म निर्विकल्प नेतृत्व गरेको काङ्ग्रेस आफ्नो आत्मसुद्दीको नेतृत्व गर्न असक्षम भयो ।
देशमा भएको हरेक परिवर्तनको जस आफ्नो भागमा खन्याउन सफल काङ्ग्रेस आफ्नै कुशल नेतृत्व आफै गर्न सकिरहेको छैन । जनता जगाउन कार्यकर्तामा उत्साह भर्न, देश ब्यूँझाउन हिडेका काङ्ग्रेस नेतागण आफैं भने अनिद्रामै थिए, किचलो र झमेला बोकेर नै गएका थिए । विपक्षीसंग भन्दा चर्को मतभेद र प्रतिस्पर्धा बोकेर हिंडनु परेपछि कस्तो जागरण, कस्तो जाग्राम हुन्छ र भयो होला ? काङ्ग्रेस जागरणमा आफ्नै पार्टी भित्रका आन्तरिक प्रतिस्पर्धीलाई आ-आफ्नो फेवरको एफएम, पत्रपत्रिका अनलाइन मार्फत खुइल्याएको, दुर्वचन गरेको र आफू मात्रै अकबरी काङ्ग्रेस भएको दृष्टान्त पेश गरेको कुरुप चित्र पनि काङ्ग्रेसजनले प्रस्तुत गरे । नचेत्नु काङ्ग्रेस जिनको करामत नहोला पक्कै पनि ? सुध्रिनु र सिद्दिनु मध्य सिद्दिनु नै काङ्ग्रेस जनको नियति भएको बुझ्न अब कुनै आइतबार कुर्नु नपर्ला ? सास रहुन्जेल आश भन्ने नेपाली उखान भए झैं अझै देश देशान्तरमा काङ्ग्रेस भनेर मरि मेटने, यसको हित चिताउने ठुलो तप्का र जनताको आशा अझै जिवित देखिन्छ ।
सान्दर्भिकता सकियो काङ्ग्रेसको भनेर मान्न स्वयं सत्तासिन पार्टी र विपक्षी तयार छैनन् । जनता अझै सराद्देमा बिरालो बाँधे झैं काङ्ग्रेस त्यागी हाल्ने मूडमा अझै देख्दैनन् । तर काङ्ग्रेस आफैं भने आफ्नो सान्दर्भिकता जोगाउन खोज्दैन । यही र यस्तै नेतृत्व रहे आफ्नै हातले आफ्नो सान्दर्भिकता सकिएको बिधिवत घोषणा गर्न आतुर भए झैं लाग्छ । देशमा यति धेरै असन्तोष, आक्रोश र निराशाका बिच केही सय मान्छे सत्तासंग आक्रोशित भएर काङ्ग्रेस प्रवेश गरे । काङ्ग्रेस ठुलो युद्द जितेको रूपमा ती मान्छेहरुको प्रवेशको चर्चा गर्छ । युवा आकर्षण गर्ने कुनै कार्यक्रम छैन । केही सय मान्छे पार्टी प्रवेशको आत्मरतिमा दङ्गदास छ काङ्ग्रेस । तर हिजो देखि संकट, दुःखका दिनमा समेत पार्टीको लागि मरिहत्ते गर्ने आफ्नो कार्यकर्ता अन्त गएको देख्न सकेको छैन ।
निष्क्रिय रहेका असन्तुष्ट र अन्त जान लागेका आफ्ना कार्यकर्ता थेग्ने खोजी गर्ने र काममा लगाउने खुट खबर गर्न काङ्ग्रेस सक्दैन । भुइको टिप्दा पोल्टाको खसेको पत्तो पाउन छोडेको छ काङ्ग्रेस । सत्ता बिना पनि रोजगार, सिर्जनात्मक ब्यबसाय, उद्योग धन्दा, कलकारखाना, ब्यापार गरेर देशमा योगदान गर्न सकिन्छ भन्ने उद्यमी चरीत्र देखाउने कार्यक्रम र योजना काङ्ग्रेसमा छैन । विदेशिएका युवालाई स्वदेश फर्कन र आफ्नै माटोमा कर्मशिल हात परिचालन गर्न उत्प्रेरित गर्ने देश भक्तिको कुनै जादुयी मन्त्र छैन ।
कर्मकाण्ड पूरा गर्न काङ्ग्रेस गाउँ गयो, शहरमा हल्का गतिविधि गर्यो तर आधारभूत रूपमा आफ्नो चरित्र सुधार र आत्मसुद्दीको अभियान चलाएन । औपचारिक रूपमा देश गणतन्त्र कार्यान्वयनको थुप्रै श्रृङखला पार गर्दै परिपक्व बन्दैछ । तर आफ्नो संगठनलाई देशको संरचनासंग संघीय रूपमा लैजान नसक्नु लज्जा भित्रको पनि लज्जा भएको कुरा काङ्ग्रेसलाई सम्झाउने कसले ? फगत औपचारिकता मात्रै आजको काङ्ग्रेसको र देशको आवश्यकता होइन आमूल रूपमा माथिदेखि तलसम्म रुपान्तरण हो, परिवर्तन हो, शैली, अनुशासन र ढाँचामा फेरबदल हो ।
भाग्यको लेखा हैन कर्मको पसिना, मेहनत र श्रममा जोड हो । उत्पादनमा भगिरथ प्रयत्न हो । बिर्सजन आलस्य र विकृतिको हो सिर्जना नव सिर्जना नवजागरण, पुनर्जागरण काङ्ग्रेस जनको खाँचो हो । नेताहरू अनुशासित र जबाफदेही बने भने कार्यकर्ता आफसे आफ लिकमा आउँछन् । जसरी देश अराजक छ काङ्ग्रेस अराजकताको मुल र मेवो नै हो । अनुशासनहिनता काङ्ग्रेसले त्याग्ने कष्ट उठायो भने धेरै कुरा आफैं सप्रन्छ । जागृति अभियानले एउटा सन्देश प्रवाह गर्न सक्नुपर्थ्यो । जसको लागि गाउँ टोल शहरमा कार्यक्रम गर्नु अघि नेतृत्व आपसी द्वन्द मेटेर फराकिलो छाती बनाएर जानू पर्थ्यो तर त्यसो गर्न सकेन । नेवि संघ जो काङ्ग्रेसको उर्वर नर्सरी हो, मेरुदण्ड हो जसको नेतृत्व छैन सो स्थापना गर्नुपर्थ्यो । अरु भातृ संगठनलाई पनि बिबादरहित बनाउनु पर्थ्यो । तर सकेन, गरेन । आ-आफ्नो गुटको प्रचार जस्तो मात्रै देखियो । जुन कुराले आन्तरिक प्रतिस्पर्धा र महाधिवेशनमा सहयोग गर्ला जित हारको पासा यताउता होला तर पार्टीकै सर्वोपरि हित हुन सक्दैन ।
देशमा यति ठुलो ठुलो भष्ट्राचार, अनियमितताका कान्डहरु छन तर प्रमुख विपक्षीलाई यी कुनै मुद्दा बन्दैन । ठुलो ठुलो भष्ट्राचारको मुद्दा आयो कि सत्ता पक्ष र विपक्ष तै चुप मै चुप रहन्छन् । भ्रष्टाचार जस्तो मुद्दा विपक्षीको बिरोधको एजेन्डा बन्दैन । बनोस पनि कसरी ? काङ्ग्रेसले भष्ट्राचार गर्दैन भन्ने विश्वास नै कसैलाई छैन । भष्ट्राचार, अनियमितता र बेथितिको लागि प्रमुख प्रतिपक्ष र सत्तापक्ष बिच अन्योन्यास्रित सम्बन्ध छ । यी दुई एक अर्काका परिपुरक हुन जो एक बिना अर्को अधुरो हुन्छ । काङ्ग्रेस जागरण अभियानको एक सकारात्मक पक्ष भनेको कम्तीमा पार्टी कार्यकर्ताले चुनावपछि पहिलोपटक मनको गुम्फन पोख्न पाए । असन्तोस, आक्रोश र गुनासो पोख्न पाए । तर देशभरका इमानदार काङ्ग्रेसको गुनासो सल्लाह र सुझाव रह्यो केन्द्रमा नेताहरु मिल्नुस , आत्मसुद्दी गर्नुस हामी आपसका थोरै र सामान्य मतभेद र म भेद भुल्न सक्छौं ।
मुल नधमिलाउनुस तल सङ्लो पानी नबग्ने कुरै छैन । निश्चित समयमा महाधिवेशन गरेर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न काङ्ग्रेसका आम कार्यकर्ता तयार छन । भलै विभिन्न खेमा र गुटका नै हुन तर नेतृत्व अब शेरबहादुर, रामचन्द्र लगायतले होइन नयाँ पुस्ताका लोकप्रिय क्षमतावान मान्छेहरुले गर्नुपर्छ । समयको हांक र मागलाई थाम्ने र चुनैतिको मुकाबिला गर्ने जमातले काङ्ग्रेसको प्रमुख गोठालो बन्ने सौभाग्य पाउनु पर्छ । तर यसो गर्ला र ? काङ्ग्रेसले काङ्ग्रेस नेतृत्वले कांचुली फेर्न सकेन भने जनता नयाँ विकल्पको मार्गमा पाइला बढाउन खोज्छन् । जनता कार्यकर्ताले दिएको अन्तिम सुध्रने मौका पटकपटक पाइँदैन त्यतिबेला गरिने पश्चाताप केवल पश्चाताप मात्रै हुनेछ । समयको सहि सदुपयोग गर्ने विकल्प काङ्ग्रेसले आत्मसात गरोस अन्यथा राम राम भन्नु भन्दा उपाय अर्को नहोला ।
प्रतिक्रिया दिनुहोस्