Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, मृतकको शव पहिचान गर्नै गार्‍हो


0
Shares

सिन्धुपाल्चोक । मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ ।

शव भेटिए पनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नीरीक्षक फलबहादुर तामाङले बताउनुभयो ।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए ।

पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाह लाई सुरक्षाकर्मीको टोलीले जिवित उद्वार गरेको थियो । उनको प्राथमिक स्वास्थ्य चौकी मेलम्चीमा उपचार भइरहेको छ ।

उनको थप उपचारका लागि काठमाडौं हेलिकप्टेरमा पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

पहिरोले पुरिएका भारत बेतीयाका राजेन्द्र चौरसीया, वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका वर्ष २१ का राजेश चौधरी, २५ का बिक्रम थिंग, २३ का मानबहादुर रूम्बा, २० का सिमन घ्लान, २१ का शिबबालक धामी र १७ का सोनम लामा सुतेका थिए ।

सँगै सुतेका सबैको शव भेटिए पनि कुन कुन हो भन्ने पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।

यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।