‘उद्योग वाणिज्य महासंघमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्छ’ • Image Khabar Image Khabar


‘उद्योग वाणिज्य महासंघमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्छ’


Imagekhabar
६ श्रावण २०७७, मंगलवार १७:२०

‘उद्योग वाणिज्य महासंघमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्छ’

काठमाडौं, साउन ६ । नेपाल उद्योग वाणिज्य महासंघमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेदवारहरुले जोड दिएका छन् ।

महासंघको यही साउन २६ र २७ गते महाधिवेशन हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि प्रत्यासी दुवै उपाध्यक्षहरुले उद्योगी–व्यवसायीका समस्या समाधान गर्न पहल गर्नसक्ने सक्षम व्यावसायिक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यावसायिक व्यक्तित्व नै आउनुपर्ने बताउनुभयो ।

उहाँले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष ढकालले आउने नेतृत्वले देशमा व्यावसायिक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट ‘एफडीआई’ भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार हालका उपाध्यक्ष किशोर प्रधानले अब निर्वाचित हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो ।

उहाँले सबै उद्योगी–व्यवसायीलाई पुनर्कर्जाको पहुँचमा पुर्‍याउन आफुहरुले काम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्