२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं-दिल्ली मनमुटाव : सीमाका जनताबीच जोखिमपूर्ण तनाव


0
Shares

काठमाडौं । नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुँदै जाँदा सीमाका बासिन्दाबीच जोखिमपूर्ण तनाव बढेको छ ।

लकडाउन उल्लंघन गरेर सीमा वारिपारि गर्ने मात्र होइन, सीमास्तम्भ उखेलेर फाल्नेसम्मका घटना भएका छन् ।

राजनीतिक तथा कूटनीतिकस्तरमा समस्या समाधान गर्न ढिलाइ भए सीमाको जनजीवन थप उत्तेजित हुने स्थिति छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि शनिबार राति झापाको गौरीगन्ज गाउँपालिका–५ फत्तेपुरस्थित सीमा क्षेत्रमा भारतीय नागरिकले गरेको आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् ।

राति साढे ११ बजे सीमास्तम्भ नम्बर १५१ नजिक गस्तीमा रहेको सशस्त्रको टोलीले भारतबाट नेपालतर्फ आइरहेका युवाको समूहलाई रोक्न खोज्दा आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

उनका अनुसार घरेलु हातहतियार बोकेको ४०–५० जनाको समूहले आक्रमण गरेको थियो ।

‘घरेलु हतियारसहित आएका भारतीयले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरे । सुरक्षाकर्मीलाई लछारपछार गरे,’ डिएसपी थापाले भने ।

सशस्त्रको ६ जनाको टोली थियो । भारतीयको आक्रमणपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चार राउन्ड हवाईफायर गरेको डिएसपी थापाले बताए ।

राति नै गौरीगन्जमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेपछि अवस्था सामान्य भएको थियो । नयाँ पत्रिका दैनिकबाट