Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


हेलिकोप्टरको होहल्लामा दब्यो विस्थापितको वेदना: हेलिकोप्टर उडाउने प्रतिस्पर्धा


0
Shares

काठमाडौं । वर्षासँगै बाढीपहिरोले जताततै विस्थापित हुन थालेपछि गाउँठाउँमा हेलिकोप्टर उडाउने प्रतिस्पर्धा चलेको छ ।

विपतको वेला पनि चुनावी सभाजस्तै फरक–फरक हेलिकोप्टर लगेर जाने प्रतिस्पर्धाले राज्यकोष दोहन भएको छ, तर विस्थापितले भने उद्धार र राहत नपाएको गुनासो गरिरहेका छन् ।

सिन्धुपाल्चोकको जम्बु क्षेत्रमा बुधबार राति पहिरो आएपछि बिहीबार बिहानै सभामुख अग्नि सापकोटा सेनाको हेलिकोप्टर लिएर सो क्षेत्र गएका थिए ।

मौसम खराब भएकाले धुलिखेलमा केही घन्टा रोकिएर उनी चढेको हेलिकोप्टर घटनास्थलतर्फ गएको थियो । बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री शालिकराम जमकट्टेल र उद्योगमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल पनि हेलिकोप्टरमा गएका थिए । कांग्रेस नेता मोहन बस्नेत पनि हेलिकोप्टर लगेर गएका थिए ।

‘जम्बु क्षेत्रका बासिन्दालाई स्थलमार्गबाटै बाह्रबिसे पुर्‍याउन सकिने अवस्था थियो, तर नेताहरूका हेलिकोप्टर आउँदै छन् भनेर घाइतेलाई पनि पर्खाइएको थियो, मौसम खराब भएकाले नेताका हेलिकोप्टर निर्धारित समयमा पुगेनन्, त्यसैले घाइतेको उपचारमा अनावश्यक ढिलाइ भयो,’ जम्बु क्षेत्रका बासिन्दाको भनाइ छ ।

उता, बिहीबार सिन्धुपाल्चोकमा एकैपटक पाँच हेलिकोप्टरले आकाश थर्काए पनि शुक्रबारदेखि विस्थापितको पीडा मात्र सुन्न सकिन्छ ।

हेलिकोप्टरमा गएका नेताहरू हेलिकोप्टरमा नै फर्किए । पाखामा पाल टाँगेर बसेका विस्थापितले न लत्ताकपडा पाएका छन्, न खाद्यान्न । -नयाँ पत्रिका दैनिकबाट