Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सङ्खुवासभा पहिरोमा बेपत्ता ११ को पहिचान खुल्यो, ४ को जिवितै उद्धार


0
Shares

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाको पहिचान खुलेको छ ।

पहिरोले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जिवितै उद्धार गरेका छन् ।

प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेका छन् ।

स्थानीय बासिन्दा हस्तमान राईका अनुसार पहिरोमा परेर घाइते भएका गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ ।

गाउँलेहरुको सहयोगमा उनीहरुलाई उद्धार गरिएको हो । अहिले पनि पहिरो गएको स्थानमा पानी परिरहेको छ । पहिरोले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि आइतबार बिहान गएको पहिराले सिसुवाखोलाको बासिन्दा गाउँ बगाएको हो । घटनास्थलमा सिसुवा र ताम्कुबाट प्रहरी परिचालन गरिसकिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

घटनास्थल विकट र सडक सञ्जालसमेत नभएको स्थानमा भएकाले प्रहरी पुग्न समय लाग्ने उहाँले बताउनुभयो ।

सदरमुकाम खाँदबारीबाट सेनाको बराह दल गुल्म, सशस्त्र प्रहरी र प्रहरी निरीक्षक सन्तोष राईको टोली विपत् व्यवस्थापन, खोज तथा उद्धार सामग्रीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् ।

उनीहरुलाई घटनास्थल पुग्न कम्तीमा १२ घण्टाभन्दा बढी लाग्छ । त्यस्तै, ताम्कुबाट पनि नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टोली औषधिसहित घटनास्थलतर्फ लागेका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजान तयारी अवस्थामा राखिएको सेनाको बराहदल गुल्मले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट १ दिन टाढा पर्छ ।