म्याग्दीमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला, २३ अझै बेपत्ता • Image Khabar Image Khabar


म्याग्दीमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला, २३ अझै बेपत्ता


Imagekhabar
२७ असार २०७७, शनिबार ११:५०

म्याग्दीमा पहिरोमा पुरिएकामध्ये ११ जनाको शव फेला, २३ अझै बेपत्ता

म्याग्दी । म्याग्दीमा पहिरोमा पुरिएका मध्ये ११ जनाको शव फेला परेको छ ।

लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको हो ।

२३ जना अझै बेपत्ता छन् भने मृतकहरुको पहिचान खुलेको छैन ।

मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् ।

प्रहरीका अनुसार हिजो मालिका गाउँपालिका केन्द्र दरवाङ पुगेको प्रहरी तथा सेनाको उद्धार टोली आज घटनास्थलतर्फ पैदल हिँडेको छ ।

तल्लो क्षेत्रको मौसम केही सुधार भएकाले केही राहत सामग्री लिएर सेनाको हेलिकोप्टर पनि उड्ने तयारीमा रहेको प्रहरीको भनाइ छ ।

बाढीपहिरोले ४३ घर पुरिएका छन । पहिरोमा के कति पशुचौपाया र धनसम्पत्तिको क्षति भयो यकिन विवरण संकलन भएको छैन ।

पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले खानाको व्यवस्था गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्