Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


ओखलढुंगाको ३९५ मिटर लामो झोलुंगे पुल पर्यटकको आकर्षण बन्दै (भिडियो रिपोर्ट)


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगा सदरमुकाममा निर्माण गरिएको तीन सय ९५ मिटर लामो झोलुंगे पुलले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न थालेको छ । स्थानीय पूर्वाधार र पर्यटन प्रवद्र्धनलाई जोड्ने उद्देश्यले निर्माण गरिएको यो पुल अहिले पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको छ ।

ओखलढुंगा सदरमुकामको हुलाकडाँडा र स्रष्टापार्क जोड्ने ३९५ मिटर लामो झोलुंगे पुल यतिबेला स्थानीयका साथै आसपासका जिल्लाबाट आउने पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ । सिद्धिचरण नगरपालिकाको पहलमा संघीय सरकारमार्फत सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट निर्माण भएको यो पुलले पर्यटन प्रवद्र्धनका साथै स्थानीय आवागमनलाई समेत सहज बनाएको छ । नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण भएको यो पुल बनेपछि स्रष्टा पार्क र आसपासका अन्य पर्यटकीय संरचनाहरूको अवलोकन गर्न सहज भएको छ । नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नै यो पुल निर्माणको प्रस्ताव अघि बढाएको थियो ।

झोलुंगे पुल निर्माण भएसँगै सदरमुकाम र आसपासका पर्यटकीय स्थलहरू घुम्न आउने पर्यटकहरूको सङ्ख्या बढ्दो क्रममा छ । विशेष गरी शनिबार र सार्वजनिक बिदाका दिनहरूमा पुल अवलोकनका लागि आन्तरिक पर्यटकहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ । लामो र आकर्षक पुल भएकाले यहाँ पुग्ने जोकोही पनि प्राकृतिक सौन्दर्यको आनन्द लिँदै तस्बिर तथा भिडियो खिच्न व्यस्त देखिन्छन् ।

स्थानीय तहले यो क्षेत्रलाई पर्यटकीय प्याकेजका रूपमा विकास गर्न झाँक्रीढुङ्गा, रुम्जाटार सङ्ग्रहालय र अन्य ऐतिहासिक तथा पर्यटकीय स्थलहरूलाई जोड्ने योजना बनाएको छ । छिमेकी जिल्लाहरू सोलुखुम्बु, खोटाङ र आसपासका क्षेत्रबाट समेत मानिसहरू पुल हेर्न र भ्रमण गर्न आउन थालेका छन् ।

जिल्लामा यो झोलुंगे पुलसँगै अन्य पर्यटकीय पूर्वाधार पनि निर्माण भएका छन् । यस्ता पर्यटकीय पूर्वाधारहरू दिगो व्यवस्थापन र सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीय व्यवसायीहरूलाई फाइदा पुग्ने गरी पर्यटकीय गतिविधिहरू सञ्चालन गर्न सके ओखलढुंगाको समग्र आर्थिक तथा पर्यटकीय विकासमा यसले ठूलो टेवा पु¥याउने देखिन्छ ।