१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


जापानमा बाढीबाट २०४ जनाको मृत्यु, प्रधानमन्त्री आबे प्रभावित क्षेत्रमा


0
Shares

टोकियो, असार २९ । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको छ ।

जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका छन् । २८ जना व्यक्ति हराइरहेका छन् ।

हराएकाहरुको अवस्था कैयौं दिनदेखि अज्ञात नै रहेकाले उनीहरु जीवितै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिए ।

विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमामात्र १५० जनाको ज्यान गएको छ ।

उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ ।

त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ ।

मौसमविद्ले वर्षा अझै नरोकिने जनाएकाले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।

जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलोपटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् ।

मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकाले उद्धारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ ।

प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा

यसैबीच, जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन् ।

बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा प्रधानमन्त्री आबे शुक्रबार पुगेको अधिकारीहरुले जनाएका छन् ।

उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुकोबारेमा जानकारी लिएका थिए ।

उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजारभन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पुर्‍याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन ।

बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालैमात्र आफ्नो विदेश भ्रमण रद्द गरेका थिए । उनी गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जाने पूर्वनिर्धारित् कार्यक्रम थियो । रासस/एएफपी