
रोमन आचार्य र विनोद बजगाई (ईमेज)
काठमाडौं, असार १५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ साल फागुन ७ गते नै हुने भनिएको छ ।
महाधिवेशन सम्बन्धि अन्य कार्यतालिका परिमार्जन गरी तोकिएकै मितिमा केन्द्रिय महाधिवेशनबारे निर्णय गर्न मंगलबार पार्टी केन्द्रिय कार्यसमितिको बैठक डाकिएको छ । तर, फागुन ७ गते महाधिवेशन गर्न आवश्यक तयारीतिर पटक्कै ध्यान दिएको पाइदैन ।
मंगलबार बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेण्डा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने रहेको छ । आइतबार पदाधीकारी तथा पूर्वी पदाधीकारीहरुको बैठकले फागुन ७ मै १४ औं महाधिवेशन उद्घाटन गर्ने निर्णय लिएपछि महाधिवेशनको तयारीबारे चर्चा हुन थालेको छ ।
रोचक त के छ भने महाधिवेशनका लागि विजय कुमार गच्छदारको नेतृत्वमा एकीकृत हुन आएको तत्कालिन प्रजातान्त्रिक फोरमलाई मिलाएर संगठन समायोजन गर्नुपर्ने काम अझै भएको छैन । २६ जिल्लामा संगठन समायोजन नगरेबाट महाधिवेशनको तयारी नभएको सन्देश दिन्छ ।
उसो त महाधिवेशनको आधारविन्दु सदस्यता वितरण पनि हो । त्यो कार्य पनि हुन सकिरहेको छैन ।
कोरोना संक्रमणलाई कारक बनाएर ३ महिना कार्यतालिकालाई स्थगन गरेको कांग्रेसले सदस्यता सम्बन्धी चरणबद्ध कार्यहरुलाई मंसिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिको जिम्मा लगाउने नीति तर्जुमा गरेजस्तो देखिन्छ । तर, पदाधीकारीको निर्णय सबैलाई मान्य हुनेमै शंका छ ।
पार्टी सभापति शेरबहादुर देउवा विरोधीको यस्तो तर्ककाबीच पार्टी संस्थापन पक्ष भने तोकिएकै मितिमा केन्द्रिय महाधिवेशन हुनेमा ढुक्क रहन भनिरहेका छन् ।
पार्टी सभापतिको निर्देशन बमोजिम पदाधीकारी बैठकबाट समेत पास भएको संशोधित कार्यतालिका लागू गर्ने हो भने कांग्रेस अब महाधिवेशनको तयारीमा होमिनु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्