एक डाडु दुध • Image Khabar Image Khabar


एक डाडु दुध


Imagekhabar
१४ असार २०७७, आईतवार ०९:०४

एक डाडु दुध

-लाओस राई

दुध भन्ने बित्तिकै ताकत, शक्ति र जीवनसंग सम्बन्धित तरल पदार्थ भन्ने बुझिन्छ । त्यसको स्रोत आमा हो । दुधको सम्बन्ध मातृत्व, परिवार र वंशसंग जोडिएको छ । यिनै कारणहरुले गर्दा आमा सबैभन्दा माथि छिन । आमालाई भूमिसंग तुलना गर्दै हामी भन्छौं–‘आमा मातृभूमि हो, आमा जननी हो ।’ पूर्वीय दर्शनमा आमालाई प्रकृति पनि भनिएको छ । दुध र आमा एक आपसमा परिपूरक छ । यस हिसाबले दुधको सम्बन्धको विकसित र संगठित रुप हो राज्य ।

त्यसैले राज्यको उत्पत्ति, बिस्तार र विकास पनि दुधको सम्बन्धको गहिराईबाट भएको हो भन्नु उपयुक्त हुन्छ । यति भनिरहँदा दुधलाई राजनीतिकरण गरियो भन्ने आरोप पनि लाग्न सक्ला । तर गोर्खा र लमजुङ राज्यको बिभाजन गर्दा चेपे नदीमा रानी राज्यलक्ष्मीले दुधको धारा लगाई दुई छोरालाई राज्य विभाजन गरेको इतिहांस हामीले भुल्लु हुँदैन । त्यसैले दुधको सम्बन्ध राज्य र राजनीतिसंग जोडिएको छ भन्नु अतिसयुक्ति हुँदैन ।

दुधको प्रसङ्ग उल्लेख गरिरहँदा बजुले (हजुर आमा जो ८९ वर्षको हुनुहुन्छ)गर्नु भएको ब्यवहार प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु । म पांच वर्षको थिएं होला । सयुक्त परिवार भएको हुनाले १९ जनाको परिवार थियो हाम्रो घरमा । खेती नै बाँच्ने प्रमुख आधार भएको हुनाले घरमा पाँच ओटा भैसी, एक हल जोत्ते गोरु, गाई लगायत सुंगुर, कुखुरा, हाँस थिए । बजुले नुन, मट्टितेल शिर्षकमा पालेका रहिछन । यति धेरै पशु पन्छीहरु बल्ल पो थाहा पाउँदै छु । बजुको योजनालाई आमाबाबा ,काकाकाकी, भाइ वहिनी सबैजना मेहेनत गर्थे । बाजेले त्यसको हेरचाह गर्नुहुन्थ्यो । हाम्रो घरमा चिया नपाक्ने हुनाले ठेट्ना मकै नै काफी थियो ।

बिहान बेलुकी खाना बजुले ढिंंडो र भात १९ सय जनालाई बरावरी भाग लगाउनु हुन्थ्यो । सबैजना एकै समय मझेरीमा गोलो घेरा हुँदै खाइन्थ्यो । भात सकिन लागेपछी सबै जनालाई एक एक गरि एक डाडु दुध दिनुहुन्थ्यो । बचेको सानो ढिडोको डल्लो त्यही दुधमा मुस्दै खाइन्थ्यो । दुधले लेपिएको हात लिएर आ–आफ्नो थाल बोक्दै बाहिरिन्थ्यौं । यो मेरो घरको ३५ वर्ष अघिको यथार्थता हो । तर आज परिस्थिति फरक छ । बाजे आँखा नदेख्ने र बजु लठ्ठीको सहाराले आँगन नाप्दै हुनुहुन्छ । हामी भने आनन्दरुपी आधुनिकताको आक्रमणले अनेक चुलोमा बाँडिएका छौं ।

बजुको खुवाउने तरिका र काम गराउने शैली सम्झंदा लाग्थ्यो कि कुनै जनवादी पार्टीले भनेको समानता आधारित समाज भन्दा निकै माथिल्लो स्तरको आदर्श राज्यको नमुना थियो भन्न सकिन्छ मेरो घर । हरेक नेपालीको घर उस्तै थियो, जस्तो मेरो घर । त्यसको अनेक कारणहरु भएपनि मुख्य कारण चाँही सम्मानपूर्ण मातृत्व र कुशल घरमुलीलाई नै हो ।

त्यसैले हरेक आदर्श राज्यले आमाको दुधको रक्षार्थ विभिन्न नियम कानुन बिधि, बिधान निर्माण गर्ने परम्परालाई निरन्तरता दिंदै गयो । फेरी मैंंले मेरी बजुले बाँढेको एक डाडु दुधको चर्चा गर्न खोजेको हुँदै होइन । यहाँ राज्यले वितरण गर्ने सेवा, सुविधा, योजनाहरु लक्षित वर्ग, समुदाय, तथा जाती, जनजाती तथा उत्पीडित समूहको निम्ति समान हुनुपर्‍यो भन्ने सन्दर्भलाई जोड्न खोजेको हो ।

सेवा सुविधाको वितरणमा समानता, अवसरमा विपन्न वर्ग समुदायको उपस्थिति र सहभागिता हुँदा मात्र समानतामा आधारित आदर्श राज्य बन्न सक्छ । त्यस्ता समानता आधारित राज्य व्यवस्थालाई मात्र लोक कल्याणकारी राज्य ब्यवस्था भनिन्छ । र त्यस्ता ब्यवस्थालाई समाजबाद भन्न मिल्दछ । अन्यथा समानता र समाजवादको खिल्ली उडाएको जस्तै मानिन्छ । यिनै जनप्रिय विशेषताहरुले गर्दा विश्वले आजसम्म समाजवादलाई लोकप्रिय, उत्कृष्ट र जनमनक ब्यवस्था भनिरहेका छन् ।

जब समाजवादले युरोपेली मुलुकमा स्थान बनायो त्यसको प्रभाव नेपाललाई पनि प¥यो । युरोप बाहिरका मुलुकहरुमा वर्णसंकरिय (हाइब्रिड) समाजवादले स्थान लियो भने नेपालमा आईपुग्दा त्यसको स्वरुप शास्त्रीय खालको देखियो । जव समाजवादको बहस र छलफलको थालनी भयो, आलोचान र समर्थन पनि संगसंगै आउन थाले । आधुनिक समयमा पुरानो व्यवस्था सान्दर्भिकता छैन भन्ने तर्कहरू पनि आइरह्यो । सामाजिक रुपान्तरणको दृष्टिले यथार्थपरक र ब्यवहारिक नभएको भन्ने तर्कहरु प्रशस्तै आए । नयाँ विचारलाई सबैतिरबाट प्रहार हुनु स्वभाविक हो पनि । किनकी वीपीले त्यसबेला समाजवादको व्यख्या गर्दा एक सानो घर, दुहुनु गाई जस्ता सानो र आधारभूत आवश्यताको पक्षमा मात्र जोड दिंदै यथास्थिलाई भत्काउने प्रयास गरेको भएपनि गुणात्मक प्रभाव पारेको नदेखिएको सत्य हो ।

सर्सती हेर्दा पुरानो ब्यवस्थामा केहि (मतदान र बोल्ल)सुधार गर्न खोजिएको जस्तो देखिनाले त्यस वखत भनिएको समाजवादलाई शास्त्रीय शैलीको समाजवाद भयो कि भन्न खोजिएको हो । तथापी समाजवादको सैद्धान्तिक पक्षको बृहत क्षेत्रतिर नगई दुहुनो गाईको र त्यसले बोकेको सिम्बोलिक अभियानको बारेमा चर्चा गरौँ । माथि उल्लेख गरेजस्तै दुधको महत्व र ‘एक घर एक दुहुनो गाई’को ब्यवहारिक पक्षलाई खोतल्ने हो भने त्यो जीवन र धर्मसंग जोडिएको देखिन्छ । पहिलो कुरा दुधले मान्छेलाई तन्दुरुस्त पार्न मदत गर्ने र दोस्रो गाईले सिंगो सनातन धर्मको प्रतिबिम्बित गर्ने भएकोले त्यी दुवै पक्षको आ–आफ्नै महत्व देखाउंदै समाजवादको आधारभुत स्तम्भ भन्न सकिन्छ ।

देख्दा सामन्य लागेपनि दुध र गाईबाट हुने फाइदा निकै गहिरो छ । विडम्बना मान्नुपर्छ लामो समय कांग्रेस सत्तामा हुँदा कति नेपालीलाई गाई पाल्न प्रोत्साहन गर्‍यो त भन्ने प्रश्न गरे भने फ्याट्ट भन्न सक्ने अवस्था नेतामा छैन । किन सक्दैन भन्ने पुनः प्रश्न गर्‍यो भने कांग्रेस त कोकोकोला खाने हो नि ! कहाँ दुध खाने कुरा त पुरानो भई सक्यो भन्ने खालको जवाफ आउने सम्भावना देखिन्छ । पूँजीपतिहरुको संगतले उदारीकरण भन्दै कुर्लेको कांग्रेसले वीपीको समाजवादको स्तम्भ नै उखेलेर फालिदिए ।

पूँजीपतीहरुका पुच्छर समात्दै कांग्रेस पुँजीपति र नव सामन्तीहरुको (प्रजातान्त्रिक सामन्तीहरुको) पार्टीको बन्न पुग्यो । ‘रात रह्यो अग्राख पलायो’ भने झैँ प्रत्येक परिवर्तनले समाजवादी ब्यवस्थाको प्रवद्र्धन गर्नुको सट्टा हिंड्दैछ पाइला मेट्दै छ गर्‍यो । त्यसले सिंगो कांग्रेस र समाजवादको स्वरुपलाई आग्रा र गाग्राको जस्तै अवस्था बनायो । किनकी कांग्रेस भनेजस्तो र सोचेजस्तो काम गर्न सकेन । बिस्तारै कांग्रेस पूँजीपतीहरुको संरक्षक बन्दै गयो । पूँजीपति र सामन्तीप्रतिको आकर्षणले कांग्रेससंग एक हल गोरु र गाई पाल्ने गरिव र किसानहरुसंग सम्बन्ध टाढिन पुग्यो । तिनै पशुपालक किसान वर्ग र समुदायले कांग्रेसलाई छाडिदिंदा धेरै पटक पछारिनु पर्‍यो ।

तर आज परिस्थिति पल्टिएको छ । संविधानले समाजवाद उन्मुख नेपाल भनेको छ । हिजो कांग्रेसले बोकेको समाजवाद आज संविधानले बोकेको छ । हिजो दलाल पूँजीबादलाई सत्तोसराप गर्नेहरु आज तिनै दलालीहरुको दाम कुण्डमा डुबिरहेका छन् । त्यसैले यस्तो अवस्थाबाट माथि उठ्नु फेरी एक पटक गाइ पालेर ‘एक डाडु दुध’ खाने किसानहरु र दूधलाई सामाजिक रुपान्तरणको माध्यम बनाउने पार्टी नेपाली कांग्रेस एक डाडु दुध खान गाउँ बस्तीमा जाँदा सबैले दुध खान पाउने अवस्था निर्माण होला की । ‘एक डाडु दुध’ जिन्दाबाद !

प्रतिक्रिया दिनुहोस्