२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कर्णालीका चिकित्सकमा संक्रमणको डर


0
Shares

मानबहादुर वली (इमेज)

सुर्खेत, असार १२ । समुदायस्तरमा फैलिन सुरु भएको कोरोना संक्रमण कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुमा समेत देखिएको छ ।

कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि विभिन्न अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।

भारतबाट फर्किएकामा मात्रै संक्रमण देखिएको कर्णालीमा एक सातायता भने समुदायस्तरमै फैलिएको छ ।

कर्णाली प्रदेशका विभिन्न अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालले सेवाहरु बन्द गरेका छन् ।

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि सुर्खेतको प्रदेश अस्पताल, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ ।

यता, सल्यानको जिल्ला अस्पताल अनिश्चितकालका लागि ‘सिल’ गरिएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा दुईजना चिकित्सकसहित नौजना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

जुम्लाको शिक्षण अस्पतालमा कार्यरत् एकजना चिकित्सकसहित पाँचजना स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ ।

यता, जिल्ला अस्पताल सल्यानका एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पताललाई बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई ‘आइसोलेसन’मा राखिएको छ ।

समुदायस्तरमा संक्रमण फैलन नदिन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीको ‘पीसीआर’ परीक्षणका लागि अस्पतालका सेवाहरु बन्द गरिएका हुन् ।

सम्भावित संक्रमित व्यक्तिहरूले सूचना लुकाउँदा स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको चिकित्सकहरूको गुनासो छ ।

आकस्मिकरुपमा आउने बिरामीका आफन्तले ‘क्वारेन्टिन’बाट ल्याएको सूचना लुकाउँदा अस्पतालहरुका चिकित्सकमा संक्रमण फैलिएको हो ।

अहिले समुदायबाट आएका बिरामीमा कोरोना देखिन थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमा चुनौती थपिएको छ । क्वारेन्टिनमा सीमित कोरोना संक्रमण अहिले समुदायस्तरमा पुगिसकेको छ ।

संक्रमण नियन्त्रणको लागि कन्ट्याक्ट ट्रेसिङ, स्वाब परीक्षणलगायतका काम प्रभावकारी भएका छैनन् ।

बरु, ‘पोजिटिभ’ देखिएर आइसोलेसनमा बसिरहेका संक्रमितलाई परीक्षणबिनै घर पठाउन थालिएको छ । यसले गर्दा कोरोना संक्रमण समुदायमा झन् फैलिने जोखिम बढेको छ ।

पीसीआर रिपोर्ट नआउँदै जेठ तेस्रो साता क्वारेन्टिनबाट तीनदेखि पाँच दिनसम्म घरमा बसेका दैलेख, नारायण नगरपालिकाका ८७ जना व्यक्तिमा कोरोना देखिएको थियो ।

उनीहरूको परिवारका सदस्य र सम्पर्कमा पुगेका समुदायका अन्य व्यक्तिको पीसीआर परीक्षण गर्नुको साटो क्वारेन्टिनमा फर्केका उनीहरूलाई बिहीबार परीक्षणबिनै घर पठाइएको छ ।

बिहीबार नै दैलेखका स्थानीय तहमा कार्यरत् कर्मचारी, विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत् स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ४३ जनामा संक्रमण देखिएको छ ।

प्रदेशका विभिन्न अस्पतालबाट ६९२ ‘डिस्चार्ज’ भएकामध्ये कतिपयको पीसीआर रिपोर्टको आधारमा नभइ लक्षणमुक्त भएपछि घर गएका छन् ।

एकातिर पोजिटिभ ‘केस’हरु सिधै घरमा जानु र समुदायका शंकास्पद व्यक्तिको परीक्षणमा ढिलाइ गर्ने हो भने कर्णाली प्रदेशले जटिल अवस्थाको सामना गर्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्