
काठमाडौं, असार १२ । नेपालको जनसंख्या औपचारिक रुपमा तीन करोड नाघेको छ । यद्यपि, बोलीचालीका रुपमा केही वर्षदेखि नै हामीले नेपालको जनसंख्या तीन करोड पुगेको बताइरहेका थियौं ।
केन्द्रीय तथ्यांक विभागका अनुसार आज (शुक्रबार) बल्ल नेपालको जनसंख्या तीन करोड पुगेको हो । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीले शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या भएको जानकारी दिनुभयो । २०६८ को जनगणनाको आधारमा सेट गरिएको घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउने गरेको छ ।
२०६८ सालको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ पुगेको थियो । अब १२ औं राष्ट्रिय जनगणना भने एक वर्षपछि २०७८ असारमा हुँदैछ ।
नेपालमा हाल दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । हाल नेपालमा जन्म र मृत्युदर दुबै घट्दो क्रममा रहेको जनाइएको छ । झण्डै दुई तिहाइ जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहको उत्पादनशील समूहमा रहेको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्