
इमेज आर्थिक ब्यूरो
काठमाडौं, असार १० । स्थानीय तहहरुले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकांश स्थानीय तहहरुले बुधबार बजेट सार्वजनिक गरेका छन् ।
महानगर, नगरपालिका तथा गाउँपालिकाहरुले आगामी वर्षका लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
देशमा रहेका ६ वटा महानगरपालिकाले ३९ अर्ब ५९ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
६ वटा महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी १६ अर्ब ४२ करोड र सबैभन्दा कम विराटनगर महानगरपालिकाले तीन अर्ब ३७ करोडको बजेट सार्वजनिक गरेका छन् ।
काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले पूर्वाधार विकासका लागि आठ अर्ब ४३ करोड, आर्थिक विकासका लागि १७ करोड २३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि एक अर्ब ७८ करोड, सामाजिक विकास क्षेत्रका लागि दुई अर्ब ४९ तथा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ९६ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।
कुल आम्दानीमा अपुग हुने रकम तीन अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
होटल तथा पर्यटन क्षेत्रलाई सम्पत्ति करमा ८५ प्रतिशतसम्म छुट गरिएको छ भने वार्षिक बहालकरमा १० प्रतिशत छुट, व्यवसाय करमा ५० प्रतिशतसम्म छुट गरिएको छ ।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि चार अर्ब ७९ करोडको बजेट ल्याएको छ ।
महानगरले ‘लकडाउन’को अवधिभरका लागि १० प्रतिशत करछुट गर्ने जनाएको छ ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
महानगरले पुँजीगततर्फ एक अर्ब ७१ करोड तथा प्रशासनिक खर्चका लागि ३४ करोड १९ लाख र सामाजिक सुरक्षाका लागि ३६ करोड विनियोजन गरेको छ ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाले चार अर्ब १५ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।
महानगरले अधुरा आयोजना पूरा गर्न ८२ करोड तथा स्वास्थ्य सेवा र शिक्षामा नौ/नौ करोड तथा रोजगारी सिर्जनाका लागि चार करोड बजेट विनियोजन गरेको छ ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाले सात अर्ब ५४ लाखको बजेट ल्याएको छ ।
महानगरले संघीय सरकारबाट तीन अर्ब ३३ करोड, प्रदेश सरकारबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट दुई अर्ब ५० करोड र अपूग बजेट वैदेशिक अनुदान तथा ऋणबाट १० करोड र जनसहभागिताबाट ३६ करोड ५० लाख संकलन गर्ने जनाएको छ ।
वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिकाले तीन अर्ब ८६ करोड रकमको बजेट ल्याएको छ ।
महानगरले चालुतर्फ एक अर्ब ६२ करोड, पुँजीगततर्फ दुई अर्ब १७ करोड तथा वित्तीय व्यवस्थापनतर्फ ६ करोड ३६ लाख खर्च हुने अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्