१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


चीनको चेपुवामा परेपछि भारतीय रक्षा मन्त्री लागे रुसतर्फ, रक्षा र सैन्य सम्झौता हुनसक्ने


0
Shares

काठमाडौं, असार ९ । चीनसँगको सीमा विवादमा एकतर्फी क्षति ब्यहोरेको भारतका रक्षामन्त्री एकाएक रुस भ्रमणमा गएका छन् । रुससँग रक्षा मामला र सामरिक साझेदारी रहेको भारत लद्दाखमा चिनियाँ सैनिकबाट आफ्ना २० सैनिक मारिएपछि भारतीय रक्षा मन्त्री राजनाथ सिंह मस्को हिँडेका हुन् ।

रुसले जर्मनी नाजी सेनामाथि विजय पाएको ७५ औं वर्षगाँठको कार्यक्रममा समेत सिंह सहभागि हुने बताइएपनि मूलतः चीनसँगको सैन्य खटपटपछि तिलमिलाएको भारत सहाराको खोजीमा रुसको समर्थन खोज्न गएको अनुमान गरिँदैछ ।

स्वयं मन्त्री सिंहले मस्को यात्रामा भारत–रुस रक्षा र सामरिक साझेदारी बलियो बनाउने बारेमा छलफल हुने जानकारी दिएकाले पनि यो भ्रमण भारतमाथि बढ्दो चिनियाँ सैन्य ताकतमाथि नै केन्द्रित रहने अनुमान गर्न सकिन्छ ।

रुससँग भारतको दशकौं लामो सैन्य सम्बन्ध रहनुका साथै भारतमा रहेका अधिकांश सामरिक शस्त्रहरु रुसमा निर्मित रहेका छन् । पछिल्ला दिनमा अमेरिकासँग सम्बन्ध बढाउँदै लगेपनि शीतयुद्धकालीन समयमा भारत रुसको नजिक रहेको थियो । यद्यपि, भारत असंलग्न आन्दोलनको एक मुख्य खेलाडी थियो ।

भारतीय सञ्चारमाध्यमहरुले सिंहको यस भ्रमण सैन्य क्षमता बढाउनकै लागि रहेको किटानी गर्दै लद्दाखमा भएको सैन्य भिडन्तमा क्षति ब्यहोरेपछि आफ्ना हतियार चुस्त राख्न र मार हान्ने क्षमता बढाउन भ्रमण केन्द्रित रहने जनाएका छन् ।

साथै भारत रुसले चीनलाई सम्झाइदिओस् भन्ने पक्षमा पनि रहेको बताइएको छ । भारतले रुससँग लिन लागेको हतियार र डिफेन्स सिस्टम पनि चाँडै पठाइदिन उनले आग्रह गर्नेछन् । भारतले किन्न र पछि भारतमै बनाउने भनिएको बहुउपयोगी हेलिकोप्टर, एस–४०० डिफेन्स सिस्टम लिनेबारे सिंहले टुंग्गो लगाउन सक्ने जनाइएको छ ।

मल्टी यूटिलिटी हेलिकोप्टर नभएकै कारण घाइते भएका सैनिकले उद्धार र उपचार नपाएरै गलवान भिडन्तपछि प्राण त्याग्नु परेको भारतीय वरिष्ठ पत्रकार विनय गुप्ताले दाबी गरेका छन् ।