एजेन्सी । दक्षिण कोरियाले सन् २०३५ सम्ममा पृथ्वीको तल्लो कक्ष ९लो–अर्थ अर्बिट–एलइओ० मा आफ्नै भू–उपग्रह सञ्चार सञ्जाल निर्माण गर्ने र सन् २०३० सम्ममा चन्द्रमामा अवतरण गर्ने लक्ष्यसहितको नयाँ रणनीतिक योजना स्वीकृत गरेको छ ।
योनहाप समाचार एजेन्सीकाअनुसार राष्ट्रपति ली जे–म्युङको अध्यक्षतामा शुक्रवार बसेको राष्ट्रिय अन्तरिक्ष समितिको बैठकले उक्त महत्वाकांक्षी रणनीतिलाई अनुमोदन गरेको हो । यस योजनाअन्तर्गत दक्षिण कोरियाले सन् २०३५ सम्ममा एउटा स्वतन्त्र भू–उपग्रह सञ्चार प्रणाली स्थापना गर्न सयौँको सङ्ख्यामा भू–उपग्रहहरू प्रक्षेपण गर्ने लक्ष्य राखेको छ ।
कोरिया एरोस्पेस एडमिनिस्ट्रेशनका प्रशासक ओ ताए–सोकले प्रमुख अन्तरिक्ष शक्ति सम्पन्न राष्ट्रहरूबीच यतिबेला भू–उपग्रह सञ्जाल निर्माणमा तिब्र प्रतिष्पर्धा भइरहेको उल्लेख गरे ।
उनले यसलाई राष्ट्रिय सुरक्षा र सञ्चार सार्वभौमिकताको रक्षाका लागि महत्त्वपूर्ण पूर्वाधारका साथै आगामी ‘सिक्स–जी’ युगका लागि रणनीतिक आधारस्तम्भका रूपमा व्याख्या गरे ।
यस परियोजनाले दक्षिण कोरियाको स्वदेशी भू–उपग्रह तथा प्रक्षेपण वाहन ९लञ्च भेहिकल० उद्योगलाई थप सुदृढ बनाउनुका साथै मुलुकको समग्र एयरोस्पेस औद्योगिक इकोसिस्टमलाई पनि बलियो बनाउने विश्वास प्रशासक ओले व्यक्त गरे ।
यसैगरी, सरकारले आफ्नो अन्तरिक्ष उद्योगलाई प्रोत्साहन गर्न र विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले चन्द्रमामा अवतरण गर्ने लक्ष्यलाई पनि दुई वर्ष अगाडि सारेको छ । यसअघि सन् २०३२ का लागि तय गरिएको उक्त लक्ष्यलाई परिमार्जन गर्दै अब सन् २०३० भित्रै चन्द्रमामा स्वदेशी यान अवतरण गराउने सरकारको योजना छ ।









प्रतिक्रिया दिनुहोस्