अध्यात्म चिन्तन: ज्ञान विज्ञान मन्थन–२ • Image Khabar Image Khabar


अध्यात्म चिन्तन: ज्ञान विज्ञान मन्थन–२


Imagekhabar
९ असार २०७७, मंगलवार ०७:१६

अध्यात्म चिन्तन: ज्ञान विज्ञान मन्थन–२

उद्धव कुईँकेल

•विषय प्रवेश:-

मणि विनाको नाग, विना फँणको साँप, जल विनाको जीवजन्तु, विना आहारका प्राणी जस्तै ज्ञान विनाको विज्ञान जतिसुकै प्रभावकारी र चामत्कारिक होस् त्यसको न कुनै महत्त्व हुन्छ र न टिकाउ नै हुन्छ। हो, म यहाँ विज्ञान जननी, अध्यात्म ज्ञानबारे छल नभै केही फल राख्दैछु

“अयं निज: परोवेत्ती गणना लघु चेतषां।
उदार चरितानां तु बसुधैव कुटुम्बकम्।।”

  • मनुस्मृति

अर्थात् संकीर्ण सोचकाहरु तेरो-मेरो, ठूलो- सानो, गरिब-धनी, उँच-नीच, जाति-विजाति, कालो-गोरो एवम् दाता-याचक आदि जातीय, वर्गीय, क्षेत्रीय र रङ्गभेदका अनुदार भावनाले ग्रसित हुन्छन्। फराकिला छाती र विशाल हृदयकाहरु भने यो भुवनभरका सबै प्राणी मेरा बन्धुबान्धव तथा आफन्तजन हुन्। यी कोही कुनै पनि पराइ छैनन् र परचक्री पनि होइनन् भन्ने विराट उदात्त भाव राख्छन्।

•हाम्रा गौरव पूर्वज:-

पूर्वीय उदार दर्शनका परिचायक यी उच्च विचार हाम्रा गौरवशाली पुर्खाका हुन्। ती तमाम तपश्वी ऋषिमुनि, समाधीस्थ योगीजन तथा रहस्यमय ब्रह्माण्डको गर्भबाट अनेकानेक दिव्य ज्ञान, कला र सिप प्राणी हितमा मानव उपयोगी अतुलनीय मङ्गलमय अमृत वचनका धारा बर्षाउने त्रिकालदर्शी साधक मेरा´यहाँका´ र `सबैका´ परम वन्दनीय आदर्श अमर पात्र हुन्। यिनका कालजयी शाश्वत मत, सदाचार संस्कार, सत्कर्म व्यवहार एवम् बहुउपयोगी आचार जस्ता सनातनी सिर्जनात्मक शान्ति-सन्देशले मानव जाति युगौँदेखि हालसम्म उपकृत छ।

•हिमवत् खण्डका अध्यात्म दूत:-

आर्य, अनार्य र बुद्धिष्ठ लगायत अन्यान्यजनको पनि आस्था केन्द्र पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भूनाथ, गोरखनाथ, लुम्बिनी, जनकपुर तथा पाथिभरादेवी आदि देवदेवीको प्राकट्य क्षेत्र हिमालय पर्वतमालाको काखमा अवस्थित स्कन्दपुराण अन्तर्गत हिमवत् खण्डमा उद्धृत यो पावन भूमि नेपाल प्राचीन वैदिक सभ्यताको उद्गमस्थल मानिन्छ। व्यवहारत: हामी पूर्वीय संस्कृतिका पक्षधर र पश्चिमी प्रविधिका समर्थक हौँ। पुर्खाको बिँडो थाम्ने कार्यभारका उत्तराधिकारी पनि हौँ। यसमा हामी कहाँ र कतिसम्म चुकेका´,लुकेका´, उठेका´,झुकेका´, फुकेका´,लत्रेका´, र `जागेका´ छौँ ती हाम्रा व्यवहार, आचार, विचार, आहार र विहारले नै बताइरहेका छन्। यसबारे चर्चाको पर्चा वा पाना भर्नु बित्थैँको अमूल्य समय खर्च मात्रै हो।

मानव सम्पदाका महामहिम हाम्रा पूर्खामा कृष्णद्वैपायन वेदव्यास, वैदिक वाङ्मयका आदिकवि वाल्मीकि, जनक लगायत अन्य ज्ञात अज्ञात देवर्षि महर्षि र राजर्षि आदि मुनिजन पर्दछन्। यसरी नै सीता, स्वयम्भू, भरत (जड भरत), भृकुटी, फाल्गुनानन्द, षडानन्द, योगी नरहरिनाथ एवम् विद्या वाचस्पति विद्यानाथ प्रभृत्ति ईश्वर अंशकलाधारी सर्वमान्य विभूति पूज्य व्यक्तित्व पनि यही आर्यावर्तका आर्य अनार्य पूजितजन हुन्।

उपर्युक्त परिच्छेदमा उल्लिखित तपश्वी, विपश्वी, साधक, तथा प्रचारकका सुविचारित सिद्धान्त संसारभरि स्थापित भएका लाभदायी र कल्याणकारी धारणा हुन्। नजिकैको तीर्थ हेलाँ´ भनेझैँ यिनकै चिनारीको धरातलमा आश्रित र पोषित विचराहरु भने तिनकास्वान्त: सुखाय बहुजनहिताय´ जस्ता सार्वकालिक, सान्दर्भिक एवम् व्यवहारोपयोगी विचार भावलाई उपेक्षित गर्छन्।

•ब्रह्माण्डको रहस्य:-

विशाल बटवृक्षका असङ्ख्य ठूला साना हाँगापिँगा डाली र अनगिन्ती फल हुन्छन्। ती हरेक फलभित्रका अन्य असङ्ख्य प्रत्येक दानामा पनि दृश्य अदृश्य जीवाणु हुन्छन्। तिनै जीवाणुमध्ये सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिव आदि त्रिदेवको विशद् व्याख्या र अपार महिमा विविध धर्म अनुयायीका ग्रन्थमा यो´ वात्यो´ (आर्य-अनार्य हिन्दु, बुद्धिष्ठ, सिख, जैन, क्रिस्चियन, मुस्लिम) नाम अथवा रूपमा अनादि कालदेखि पछिका
२६००/२१००/१५००/२००/सय वर्ष पूर्वबाट हालसम्मका विज्ञान सिद्ध वैदिक तथा पौराणिक शास्त्रका निर्देशनको चिन्तन मानव गर्दै आइरहेको छ।

वैदिक आर्य पौराणिक मान्यताअनुसार विशाल वरको रुख ब्रह्माण्ड [कृष्ण विबर (Black hole), तारापुञ्ज(Galaxy) खगोलीय रहस्य?…] हो। यसका हाँगापिँगा तारापुञ्ज हुन्। यसभित्र असङ्ख्य सौर्य मण्डल पर्छन्। यी सौर्यमण्डलहरु मध्ये हामी बस्ने पृथ्वी एवं अरु ग्रह(शनि, वृहस्पती, मंगल आदि) तथा उपग्रह(चन्द्र)हरुको समूह पनि एक हो। ब्रह्माण्डभित्रका अन्यान्य लोकहरुमा भूलोक, भूवनलोक, तल, वितल, तलातल आदि लोक पनि पर्दछन्। ब्रह्माण्ड बटवृक्षका फलमा अज्ञात विशिष्ट लोकहरु पर्छन्। ती वृक्षफलभित्रका असङ्ख्य जीवाणुहरुमा मानव आस्थाका ब्रह्मा, विष्णु, महेश्वर लगायत मानव मान्यता अनुसार जे नाम दिइएता पनि अन्य प्रशस्तै ३३कोटी(सङ्ख्या वा प्रकार) देवदेवीहरु पर्छन्।

उपर्युक्त अकाट्य शास्त्रीय चिन्तनद्वारा प्रतिपादित अटल प्रामाणिक सिद्वान्त अनुसार यो विराट ब्रह्माण्ड अज्ञेय र अभेद्य छ। सत्व(Neutron), रज(Proton), तम(Electron) [सृष्टिका अधारभूत तत्त्व] तथा मन, वचन र कर्म[दश इन्द्रियसँग सम्बन्धित]को पकड बाहिरको अति गूढ मन्त्र विषय भन्ने बुझिन्छ। अपराजित ब्रह्मशक्ति, ब्रह्माण्डको आदि अनादि अनन्त रहस्यको निर्क्योल र निरुपण योग योगेश्वरबाट मात्र संभव छ।

•योगमा अड्किएको तथा भोगमा भड्किएको मानव:-

अनन्तकाल प्रवाहका विकास चरणका अनगिन्ती आरोह अवरोहहरु पार गर्दै ऊ (मानव) पुस्तौँ पुस्ता देखिको ज्ञान आर्जन सहितको शान्ति प्राप्तिको अपूरो यात्रामा पूर्णताको अपेक्षा राख्दै अघि बढ्दैछ। यो अज्ञात यात्रा कुन बेला कहाँ गएर कतिखेर पूरा हुने हो स्वयम् उसलाई हालसम्म थाहा छैन। हुनसक्छ सायद ऊ भौतिक क्षणिक सुखको खोजीमा यात्रारत छ। तर यो क्षणभङ्गुर लौकिक जगतको नश्वर भौतिक मोजमज्जा, सुखसयलको विलासिताले चिरस्थायी सुखशान्ति खोज्नु `आकाशको फल आखा तरी मर´ भनेसरि हो।

तसर्थ नाशवान् सांसारिक क्षणिक विषयभोग, मिथ्या प्रपञ्च, अस्थिर व्यावहारिक विषयवस्तु अन्तको चुरो फेला पार्न र चञ्चल मनलाई स्थिर शान्ति दिलाउन, मानव सिर्जित नित्य परिवर्तनशील आफैँमा अपूर्ण हालको उच्च विज्ञान प्रविधि विविध मानव व्यवहार सहायक साधन मात्र हो। चिरस्थायी सुखशान्ति प्रदायक चाहिँ होइन। यसले दिने सुख भनेको त तिर्खाले छट्पटाएर व्याकुल भई परमानन्द सुखको खोजीमा भड्किएर तड्पिएको आत्मालाई विज्ञान प्रविधिको एक थोपा पानीले उसको परमानन्द आत्म शान्ति(ईश्वर) प्राप्तिको तिर्खा मेटाउने प्रयास हो। यो त अबुझ बालहठको परिहासपूर्ण चन्द्रमा छुने असम्भव बाल आग्रह मात्र हो।

कस्तुरी मृगले आफ्नै अंगस्थित सुवासनाको पहिचान गर्न सक्तैन। मगमग वासनाको खोजीमा बाहिरी संसारमा भौँतारिन्छ। त्यस्तै हामी मानव पनि आफूभित्र अवस्थित अध्यात्म ज्योतिज्ञानको पहिचानको क्रममा स्त्रीपुरुष आकर्षण लौकिक विषय सुखको लुतो कन्याइ र टट्याइ´मा अल्मलिएकाले दुखित छौँ। अध्यात्मदर्शन परिपाकपूर्ण गलित ऋतुफलको जीवन दर्शन सत्-संग गुदीको मिठो स्वाद छोडेर भौतिक तिता विषय सुखको काँडैकाँडाको टर्रो बोक्रामा रमाउने रमिते बनेका छौँ। अनिकाम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ´ भएपछि परमानन्दको लक्ष्य पूरा हुन्छ त?

•विज्ञानको उपादेयता:-

हालसम्मका विज्ञान गतिविधि अध्ययन र उपयोगिता सौर्यमण्डलमा मात्र सीमित छ। यसले खगोलीय यात्रामा गति, मति, रतिमा जति जोड बढाए पनि कति, खति व्यहोरेर यति परिमितताको दायरामा यो संकुचित छ।

यसबाट के प्रमाणित हुन्छ भने ज्ञान विनाको विज्ञान´ सधैँ अपूरो हुन्छ। ज्ञान बराबरीमा विज्ञान कहिल्यै पुग्न सक्तैन।जहिल्यै पनि विज्ञान ज्ञानको अनुयायी भएर नै ऊ अघि बढ्न सक्छ। ज्ञानको पछि लाग्ने विज्ञान मात्र सुविज्ञान हुन्छ। सुविज्ञान अर्थात् विवेक सम्मत् ज्ञान भन्ने हुन्छ। ज्ञान र विज्ञानको सहयात्राले नै सृष्टिमासत्यम् शिवम् सुन्दरम्´को सौन्दर्य सुवासना छर्छ। यही सुवासनामय सृष्टि जगतमा प्राणी स्वतन्त्र, सुरक्षित र शान्तिपूर्ण जीवन उपभोगका साथसाथै उपयोग पनि गर्न पाउँछ। विवेक सम्मत् विज्ञान सुविज्ञानको प्रभाव र दबाबले मानवमा ज्ञान स्वभावको विकास हुन्छ। यस्तै ज्ञानीले विज्ञानको सदुपयोग गर्छ। फलस्वरूप सृष्टि जगत ज्ञान विज्ञानले सुसज्जित र सुव्यवस्थित पनि हुन्छ। यसरी `ज्ञानको विज्ञान वरदान´ हुन्छ। अनि मात्र मानव सभ्यताको सम्मान हुन्छ। -अस्तु

प्रतिक्रिया दिनुहोस्