
मानबहादुर वली (ईमेज)
सुर्खेत, असार ७ । कर्णाली प्रदेशमा लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको थप जोखिम बढेको छ ।
भारतबाट फर्किएकाहरुमा संक्रमणको त्रास बढ्दो छ भने समुदाय स्तरमा समेत कोरोना संक्रमिण भेटिएका छन् ।
कर्णाली प्रदेशमा असार नलाग्दासम्म कोरोना भाइरसकोे त्रास निकै थियो । आम सर्वसाधारण मात्रै होइन चिकित्सक र सरकारी अधिकारीहरू समेत त्रसित थिए ।
संक्रमण फैलिए नियन्त्रण र व्यवस्थापनमा निकै सकस हुने धेरैको आकलन थियो ।
संक्रमण छिटफुट रुपमा देखिदा सवै सतर्क र सावधानी अपनाएको देखिन्थ्यो तर संक्रमणको ग्राफ उकालो लागिरहँदा सावधानी र सतर्कता भने शून्य छ ।
बाहिरी सम्पर्कमा नभएका दैलेख र सुर्खेतमा रहेका ३ जनामा कोरोना पुष्टि हुनुले संक्रमण समुदाय समेत भएको प्रष्ट पार्छ ।
संक्रमित क्षेत्रबाट फर्किएका नागरिकहरु लुकिछिपी गाउँमा प्रवेश गर्नु र नागरिकहरु सचेत नहुँदा प्रदेशमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गर्न लागेको सामाजिक विकास मन्त्रालयको निष्कर्ष छ ।
पछिल्लो समय संक्रमित क्षेत्रबाट मात्रै झण्डै ४३ हजारभन्दा बढी नागरिकहरु गाउँ फर्किएका छन ।
जसमध्ये धेरै नागरिकको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । तर कोरोना भए÷नभएको पुष्टि गर्ने एकमात्र विधि पीसीआर परीक्षणको दायरा भने निकै न्यून छ ।
त्यसैले सामाजिक विकास मन्त्रालयले सबै नागरिकलाई सतर्क र सावधानी अपनाउन आह्वान गरी रहेको छ ।
संक्रमित नदेखिँदै त्रसित र सतर्क रहेका कर्णालीमा यतिबेला भने चरम लापरबाही भएको छ । जताततै असावधानी देखिन्छ ।
संक्रमण देखिनुपूर्व त्रास र सावधानी अपनाएका कर्णालीका व्यापारी समेतले अहिले व्यापार व्यवसाय खोलेका छन् ।
परीक्षण कमीका कारण यो संख्या अझै कम भएको र कर्णाली प्रदेशमा कोरोना भाइरसले उग्र रुप लिन सक्ने कतिपय स्वास्थ्य विज्ञले बताएका छन् ।
यता प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि धेरै काम गरेको दावी गरेको छ ।
प्रदेशका विभिन्न ग्रामिण इलाकामा भने क्वारेन्टिनको न्युनतम मापदण्ड पुरा नहुँदा नागरिकहरु त्रसित भएका छन् ।
कतिपय क्वारेन्टिनबाटै समुदायमा संक्रमण फैलने हो की भन्ने चिन्ता छ । ग्रामिण क्षेत्रका क्वारेन्टिनमा सुरक्षा व्यवस्था पितलो हुदाँ झन चुनौती थपिएको छ ।
हाल कर्णाली प्रदेशको सुर्खेतमा २ वटा मेसिन र जुम्लामा १ वटा मेसिन गरी ३ वटा मेसिनबाट परीक्षण गरिएको छ । कोरोना संक्रमितको केन्द्र रहेको दैलेखमा कोरोना परीक्षणका लागि मेसिन आइ सकेको छ ।
शनिबारसम्म कर्णाली प्रदेशमा १ हजार २ सय ४५ संक्रमित छन भने कोरोना जितेर घर जानेको संख्या ५ सय १७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्