
काठमाडौं, असार ७ । सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालले जारी गरेको अद्यावधिक नक्शा अनुसार उत्तरी छिमेकी चीनसँगको सिमाकङ्न पनि टुंग्याउन आग्रह गरेका छन् ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा श्रेष्ठले लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएकाले लिम्पियाधुरासम्मको सिमानाको टुंगो लगाउनुर्ने बताए ।
श्रेष्ठले चीनसँगको सिमांकनसँगै त्रिदेशीय बिन्दु खडा गर्न चीनलाई भन्नुपर्ने बताए । त्रिदेशीय बिन्दु निर्धारणका लागि भारतलाई पनि मनाउनुपर्ने उनको सल्लाह छ ।
चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशीय बिन्दु कायम भएपनि नेपालको दुई वटा बिन्दु समेत कायम नभएको उनले जानकारी दिए ।
सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्शा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला नगर्न सुझाव दिँदै सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्शा प्रयोग भएका लेटरप्याडहरु परिवर्तन गर्न भने ।
केन्द्रीय तथ्याङ्क विभागले तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्नुपर्ने भन्दै उनले गुगललाई नेपालको नक्शाका विषयमा जानकारी दिन पनि सुझाए ।
सीमा समस्या वार्ताबाट मात्रै समाधान गर्न आग्रह गर्दै उनले सडकको उफ्राईले बिच्काउने काम मात्र हुने चेतावनी दिए । नेपाली भूमिबाट भारतीय सेना फिर्ताको वातावरण बनाउने जिम्मा नेपालकै भएको उनको भनाइ थियो ।
वार्तामा बस्न भारत अनिच्छुक भएमा मात्र अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गर्नुपर्ने श्रेष्ठको भनाइ छ । भारतसँग प्रमाण कमजोर रहेकाले वार्तामा बस्न आनाकानी गरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्