सञ्चार उद्यमी सिंघानीया हत्याका मुख्य योजनाकार पक्राउ • Image Khabar Image Khabar


सञ्चार उद्यमी सिंघानीया हत्याका मुख्य योजनाकार पक्राउ


Imagekhabar
१७ चैत्र २०७२, बुधबार ०६:५८

सञ्चार उद्यमी सिंघानीया हत्याका मुख्य योजनाकार पक्राउ

काठमाडौं, चैत १७ । सञ्चार उद्यमी अरुण सिंघानीया हत्याका मुख्य योजनाकार चन्द्रदीप यादव पक्राउ परेका छन् ।

भारतको जयनगर बसेर नेपालमा आपराधिक गतिविधि चलाउँदै आएका यादवलाई प्रहरीले मंगलबार राति प्रेमिकासहित धनुषाबाटै पक्राउ गरेको हो ।

जनकपुर टुडेका प्रकाशक सिंघानीयाको २०६७ फागुन १७ गते होलीको दिन जनकपुरको शिव चोकमा गोली हानी हत्या भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा फोरम लोकतन्त्रिकका तर्फबाट धनुषा–६ बाट प्रत्यक्षतर्फबाट उम्मेद्वार समेत बनेका यादव सिंघानीयाको हत्या भएको पाँच वर्षपछि पक्राउ परेका हुन् ।

यादव उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार र जनकपुर बम विस्फोटका योजनाकार सञ्जय शाहका नजिक मानिन्छन् ।

जनकपुर बम विस्फोट र सिंघानीया हत्याको अनुसन्धान थालेपछि शाहसँगै यादव र रामविनोद यादव फरार भएका थिए । शाह अहिले डिल्लीबजार कारागारमा छन् भने रामविनोद अझै फरार छन् ।

पछिल्ला दिनमा यादवले जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको नामबाट आपराधिक गतिविधि सञ्चालन गर्दै आएको दाबी प्रहरीले गरेको छ ।

उनी त्यसका अध्यक्षसमेत हुन् । पक्राउ परेका यादवमाथि अन्य व्यक्तिको हत्या गरेको आरोपसमेत प्रहरीले लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्