क्रिस गेलका कारण भारतीय क्रिकेट टिम तनावमा, यस्तो छ कारण • Image Khabar Image Khabar


क्रिस गेलका कारण भारतीय क्रिकेट टिम तनावमा, यस्तो छ कारण


Imagekhabar
१८ चैत्र २०७२, बिहीबार ०५:४३

क्रिस गेलका कारण भारतीय क्रिकेट टिम तनावमा, यस्तो छ कारण

मुम्बई, चैत १८ । विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलमा भारत र वेस्ट इन्डिज भिड्दैछन् । दुबै टिममा केही खेलाडी यस्ता छन् जो एक्लो प्रयासमा म्याच जिताउने क्षमता राख्न सक्छन् । त्यसैले पनि दुबै टिम एक–अर्का विरुद्ध रणनीति बनाउन जुटेका छन् ।

यतिमात्र होइन, दुबै टिमले विगतमा आपसमा भएका प्रतिश्पर्धाका कमी–कमजोरीलाई समेत गम्भीरता पूर्वक नियाँलिरहेका छन् । कुन खेलाडीको कस्तो कमजोरी छ र उसको सबल पक्ष के हो भन्नेबारे दुबै टिमले सुक्ष्म विश्लेषण गरिरहेका छन् ।

भारतीय संचारमाध्यमहरुले वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई ‘खतरनाक’ मानिरहेका छन् । हुन पनि गेलका नाममा रहेको सर्वाधिक छक्काको कीर्तिमानले नै उनको क्षमतालाई पुष्टि गर्दछ ।

आज साँझ हुने खेलमा गेलको प्रदर्शनले नै म्याचको नतिजा निर्धारण गर्ने विज्ञहरुको भनाई छ । यद्यपि भारतीय टिममा पनि केही यस्ता हस्ती छन्, जसले एक्लो क्षमताको भरमा म्याच जिताउन सक्छन् ।

ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ४८ म्याच खेलेका गेलले ३६.८२ को औसतमा कुल १,५१७ रन बनाएका छन् । तर भारतविरुद्ध भने उनको प्रदर्शन योभन्दा धेरै राम्रो देखिन्छ । उनले भारतविरुद्धका तीन म्याचमा ५१.३३ को औसतमा १५८ रन बनाएका छन् ।

यतिमात्र होइन, भारतीय पिचमा गेलको ब्याटिङ रेकर्ड निकै राम्रो छ । उनले भारतीय पिचमा तीन अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी म्याच खेलेका छन् जसमा इङ्ल्याण्डविरुद्धको अविजित १०० रनको पारी पनि सामेल छ ।

गेलसँग भारतीय टिम डराउनुको अर्को मूख्य कारण वानखेडे स्टेडियम पनि हो, जहाँ गेलको ब्याटले तेज रफ्तारमा रन बनाउने गरेको छ । उनले सोही मैदानमा इङ्ल्याण्ड विरुद्धको खेलमा पाँच चौका र ११ छक्का प्रहार गर्दै शतकीय पारी खेलेका थिए । उक्त म्याचमा उनले प्रहार गरेको ११ छक्का अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी क्रिकेटको एकै इनिङमा सर्वाधिक छक्का प्रहार गरिएको कीर्तिमान बन्न पुगेको छ ।

यस अतिरिक्त गेलले इन्डियन प्रिमियर लिगमा समेत भारतीय खेलाडीहरुको कमजोरी र सबल पक्षलाई नजिकबाट अनुभव गर्न पाइसकेका छन् भने वानखेडेको पिचमा पनि आफूलाई धेरै पटक उभ्याइसकेका छन् । त्यसैले भारतविरुद्ध क्रिस गेल खतरनाक हुन सक्ने भारतीय संचारमाध्यम र क्रिकेट पन्डितहरुको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्