१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


कुनै अध्यादेश ल्याउने तयारी छैन, हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री


0
Shares

काठमाडौं, चैत २० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै अध्यादेश ल्याउने तयारी नगरेको बताएका छन् ।

अध्यादेश ल्याएर सरकारले न्यायाधीशहरु नियुक्त गर्ने हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीले कुनै अध्यादेश ल्याउने तयारी नभएको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघको शनिबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले कांग्रेससँग परामर्श नगरी अध्यादेश नल्याइने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले कालोबजारी र भष्ट्राचार बढेको आफूलाई पनि अनुभूति भएको भन्दै त्यसको नियन्त्रणका लागि अब कडाइकासाथ लाग्ने बताए ।

उनले भूकम्पबाट भत्किएका जनताका घरको निर्माण वर्षायामअघि सक्न पनि गाह्रो हुने देखिएको बताए ।

साधन–स्रोतको अभावमा पुनःनिर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन कठिनाइ भएको उनको भनाइ थियो ।

कांग्रेसका भ्रातृसंस्थाका अध्यक्षहरुद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भने कालोबजारी नियन्त्रण गर्न, भूकम्पले प्रभावित जनताको आवास निर्माणका लागि तत्काल रकम वितरण गर्न माग गरिएको छ ।

माग पूरा नभए आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमा दिइएको छ ।

ज्ञापनपत्र बुझाउन गएकाहरुले कालोबजारी गर्नेलाई एक वर्षकोमात्र जेल सजाय गर्ने कानुन बनाएको भन्दै प्रधानमन्त्री ओलीसँग आपत्ति जनाएका थिए ।