इपीएस भाषा परीक्षा आगामी असार ४ र ५ गते • Image Khabar Image Khabar


इपीएस भाषा परीक्षा आगामी असार ४ र ५ गते


Imagekhabar
२२ चैत्र २०७२, सोमबार ०८:५९

इपीएस भाषा परीक्षा आगामी असार ४ र ५ गते

काठमाडौं, चैत २२ । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत् लिइने कोरीयाली भाषा परीक्षा आगामी असार ४ र ५ गते हुने भएको छ ।

श्रम तथा रोजगारमन्त्री दीपक बोहराको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि सातौं भाषा परीक्षाका लागि काठमाडौं उपत्यका र पोखरामा परीक्षा केन्द्र तोक्ने निर्णय गरेको हो ।

इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाकाअनुसार बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त संकलन गर्ने निर्णय गरेको छ ।

यो वर्ष दरखास्त संकलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यकाबाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त संकलन केन्द्र राखिनेछ ।

पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा उत्तीर्ण हुनेलाई प्राथमिकतामा राख्न कोरिया सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

यसअघि, भदौमा भाषा परीक्षा लिने भनिएपनि मानवसंशाधन विभाग (एचआरडी) कोरियाले चाँडै परीक्षा लिन आग्रह गरेपछि असारमा सारिएको हो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्यकारूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८०० परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् ।

यसवर्ष मेसिनले पढ्ने राहदानी (एमआरपी) भएकालेमात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कुल २०० पूर्णांकको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिकासमेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ ।

कोरियाले विगत जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदैछ । परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् ।

तर, भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसारमात्र जान पाइने इपीएसले जनाएको छ । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएको छ ।

विगतमा म्यानपावरबाट कामदार रोजगारीमा कोरिया जाने गरेको भएपनि म्यानपावरले बढी शुल्क उठाउन थालेपछि सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपीएस प्रणालीअन्तर्गत् कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सन्चालन हुँदै आएको छ ।

यसअघिका वर्षमा ४० देखि ५० हजार युवाले परीक्षाका लागि आवेदन दिने गरेकामा सातदेखि आठ हजार उत्तीर्ण हुँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्