९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


कृष्णप्रसाद हत्याको मुद्दा फेरि ब्युँतिदै, ६ जना साक्षीले बकपत्र दिने


0
Shares

राजु चौधरी
चितवन, चैत २२ । गोरखा, फुजेका कृष्णप्रसाद अधिकारी हत्याको मुद्दा पुनः व्युँतिने भएको छ ।

आगामी वैशाख ५ गते चितवन जिल्ला अदालतमा गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकान्डका साक्षीहरुको बकपत्र हुने भएपछि सो मुद्दा पुनः चल्ने भएको हो ।

घटनाका ६ जना साक्षीले चितवन जिल्ला अदालतमा बकपत्र दिने भएका छन् । बकपत्रपछि मुद्दालाई पेसीमा लगेर फैसला गरिनेछ ।

कृष्णप्रसाद हत्याको मुद्दा पुनः चलाउने विषयमा मानवअधिकारकर्मीहरुले सोमबार जिल्लाका कानुन व्यवसायी, पत्रकारहरुसँग छलफल गरेका छन् ।

सो अवसरमा अधिकारकर्मी सुवोध प्याकुरेलले वैशाख ५ गते हुने बकपत्रमा साक्षीहरुले जे सत्य हो त्यही बोली दिन आग्रह गरे ।

उनले चितवन जिल्ला अदालतले गर्ने निर्णयप्रति आफूहरु आशावादी रहेको पनि बताए ।

चितवन जिल्ला अदालतमा कृष्णप्रसाद हत्यामा संलग्न भएको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर छ । हाल सो मुद्दा विचराधीन अवस्थामा रहेको छ ।

गत पुस ६ गते सर्वोच्च अदालतले घटनाका मुख्य आरोपी छविलाल पौडेललाई थुनामै राखी अनुसन्धान गर्न आदेश दिएको थियो ।

गत वर्ष अधिकारी हत्या आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारी र छविलाल पौडेललाई चितवन जिल्ला अदालतले धरौटी र तारेखमा छाडेको थियो ।

तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ साल जेठ २३ गते अपहरण गरी जेठ २४ गते अधिकारीलाई गोली हानी हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनसन बसेकै अवस्थामा नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो भने आमा गंगामाया अहिले पनि अनसनमै छन् ।