
काठमाडौं, चैत २३ । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर दुवै जनाले उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको उम्मेदवारीको प्रस्तावकमा फर्मुल्लाह मन्सुर र समर्थकमा पद्मनारायण चौधरी छन् । त्यसैगरी वरिष्ठ नेता पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा महामन्त्री शशांक कोइराला छन् ।
उम्मेदवारी दर्ता गर्दै सभापति देउवाले संविधान कार्यान्वयन र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताए । त्यसैगरी वरिष्ठ नेता पौडेलले पार्टीभित्र जिम्मेवारी बाँडफाँट हुनुपर्ने मान्यताअनुसार आफूले उम्मेदवारी दिएको बताए ।
उनले न्यायोचित जिम्मेवारी बाँडफाँट गर्नका लागि सभापतिले पहल गर्नुहुने आशा व्यक्त गरे । लोकतन्त्र बलियो बनाउन र कांग्रेसलाई एकढिक्का बनाउन पनि आफूले उम्मेदवारी दिएको उनको भनाई थियो ।
कांग्रेस निर्वाचन समितिले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्न आज बिहान ९ बजेदेखि १२ बजेसम्मको समय निर्धारण थियो । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि भोलि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुने छ ।
तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेका दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो । संसदीय दलको कार्यसमितिको निर्वाचन भने २६ गते हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्