साँच्चै अब देश बनाउने हो ? • Image Khabar Image Khabar


साँच्चै अब देश बनाउने हो ?


Imagekhabar
२९ चैत्र २०७२, सोमबार ०५:१८

साँच्चै अब देश बनाउने हो ?

पेशल आचार्य –
लमजुङतिरका एकजना कृषि विज्ञले सरकारी गोष्ठीमा भाग लिएर चीनबाट फिरेपछि आफ्ना पाखा–पखेरामा बाँस लगाउन र सोको बहु प्रयोगका लागि सरकारसँग प्रोपोजल गरेर सानोतिनो उद्योग खोल्न आवेदन गरे । सरकारले उनलाई सहयोग गर्नु त परै जाओस्, सरकारी कर्मचारी भएकाले निजामति सेवाभरि उनले कुनै पनि उद्योग वा बाहिरी काम गर्न नपाउने भनेर सचेत–पत्र काट्यो ।

सरकारको डेढ अक्कली सोच र पारालाई दुत्कार्दै उनले तक्काल राजीनामा दिए । त्यसपछि उनी आफ्नो गृह जिल्लामा बाँसका बारेमा चेतना फैलाउन र बाँसको बहुउपयोगी उद्योगमा काम गरिरहेका छन् । उनको पाखाभित्ता गरेर करिब ५ सय रोपनी जग्गा रहेछ । यो सन्दर्भ नेपाल समाचारपत्रमा करिब २०५५/२०५६ तिर पढिएको हो । कृषिविज्ञ अहिले कहाँ छन् ? रामजाने ।

सुनसरीमा सेवाईलाल चौधरी नामका एकजना वृद्ध मानिस थिए । उनी आफ्ना शरीरमा आधा लुगा लगाउँथे । खालीखाल्सा जग्गामा सिसौका बिरुवा रोप्दै हिँड्थे । उनलाई ‘लुगा किन नलगाएको’ भनेर सोध्दा ‘जबसम्म सुनसरी जिल्लालाई हराभरा पार्न सक्दिनँ, तबसम्म म लुगा नै लगाउदिनँ’ भन्थे । उनले आफू बाँचुञ्जेलसम्म एउटै लगौंटीमा आफ्नो लाज ढाके । उनी कुनै वातावरणविद् थिएनन् ।

उनले अक्सफोर्ड र हार्वड विश्वविद्यालयमा पढेका थिएनन् । उनलाई संसारको विशालता र ‘ग्लोबल वार्मिङ्’ पनि केही थाहापत्तो थिएन । फगत् उनी आफू र आफ्नो वरिपरिको परिवेशलाई हराभरा पार्न चाहन्थे । उनी वातावरणका नाममा ‘युएन’ र अन्य अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाबाट हुने कागजी रिपोर्ट र रिपोतार्जमा पनि दख्खल राख्ने व्यक्ति थिएनन् । उनले जीवनमा हरियाली चाहेका थिए । बोट वनस्पति र चरीपंक्षीसँग मितेरी गाँस्न खोजेका थिए तर उनको सपना जीवनमा पूरा भयो भएन भन्नेबारे कुनै नेपाली खोजी पत्रकारिता गर्ने पत्रकारका आँखामा परेनन् । अहिले उनी मरे÷बाँचेको केही औपचारिक जानकारी छैन । तर उनका सपना भने मरेका छैनन् होलान् । नयाँनयाँ सेवाईलालहरू समाजमा जन्मिरहेका होलान् । खोजी गर्नु पर्ने दायित्वबाट हामी केही पढेलेखेका र देखेसुनेका मानिसहरू यसरी विमुख हुन मिल्छ ? मिल्दैन ।

सय रूपैयाँमा नर्सरीदेखि एमएसम्म १ सय रूपैयाँमा सुलभ र गुणस्तरीय शिक्षा दिने भनेर उत्तम सञ्जेल विगत् डेढ दशकदेखि लागि परेका छन् । हिउँद्वर्षा र घाम पानी पनि नभनी उनले गरेको सेवा अतुलनीय त छ । साथै उनले अहिले नेपालका चालीस जिल्लामा ‘समता शिक्षा निकेतन’का नामबाट स्कुलहरू चलाएका छन् जहाँ धेरैजसो त समताबाटै शिक्षित र दीक्षित भएका विद्यार्थीहरू काम गर्छन् । मुलुकमा गुणस्तरीय शिक्षाको चेतना अहिले ह्वात्तै बढेको छ । अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई प्राविधिक र कुस्त कमाइ हुने अनि व्यक्तित्वशाली शिक्षा दिन आफ्नो घरखेत बन्धकी राख्ने, सञ्चय कोष र बैंकबाट समेत लोन लिएर मुलुक या मुलुकबाहिर पढाउन लागिपरेकै छन् । तथ्यांकमा हेर्ने हो भने नेपालबाट वर्षेनि ‘नो अब्जेक्सन लेटर’ लिएर विदेश पढ्न जानेको लामो लर्कोले यही कुराको सपाट जवाफ दिन्छ । यस्तोमा उत्तमीय सुभल ज्ञानको प्रशारणलाई सरकारले अहिलेसम्म क्यास गर्न सकेको भने छैन ।

बीबीसी नेपाली सेवाका प्रमुख तथा ‘हेल्प नेपाल’ का अध्यक्ष रवीन्द्र मिश्र पत्रकारिता र अझ परोपकार पत्रकारितामा विगत् लामो समयदेखि चर्चित पत्रकार हुन् । उनले लेखेका किताबबाट मकवानपुरका लोपोन्मुख चेपाङ जनजातिलाई गरेको सहयोग र हाल आफ्ना कवितावाचन मार्फत् संकलन भएको रकमलाई समाजसेवामा लगाएको समाचारबाट पनि उनी सेवामुखी पत्रकारिता र साहित्य लेखनलाई समाजमा राम्रो काममा स्थापित गर्ने प्रयासमा छन् भन्ने दृष्टान्त मिलेको छ ।

खोजी पस्दा नेपाली समाजमा महिला हिंसाका विरुद्धमा अवारनेसको काम र पुनर्स्थापना जस्ता कार्यमा अनुराधा कोइरालाले गरेको परिणाममुखी समाजसेवा, व्यवहारिक शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको ‘शिक्षकले चाहे गर्न सक्छन्’ भन्ने वैविध्य शिक्षण सीपमुखी जिल्लागत् जन चेतनामूलक कार्यक्रम साथै सिकाइ प्रक्रियामा सोचान्तरणको नूतन प्रक्रिया, नेपाल प्रहरी प्रतिको जनताको दृष्टिकोणमा आमूल परिवर्तन गर्दै प्रहरी सेवामा जबर्जस्त उदाएका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले गरेको नेपाली फुटबलको म्याच फिक्सिङ् काण्डको पर्दाफास र एन्फाको भ्रष्टाचार कहिरन तथा त्यसपछिको नेपालको अन्तर्राष्ट्रिय फुटबल सफलता, ‘जहाँ जाम त्यहाँ सीताराम’ भन्ने नयाँ ट्राफिक उखानका उद्भवकर्ताका रूपमा चिनिएका ट्राफिक निरीक्षक सीताराम हाछेथुको राजधानीको अस्तव्यस्त ट्राफिक जाम बारेमा थालिएको परिणाममुखी कार्य, नेपाली चिकित्सा शिक्षालाई राजनीतिक व्यक्तित्वका नाममा पण्डागिरी गर्दै गरिएको कालो व्यापार, लुटेरा स्तरका अस्पताल विरुद्धमा छेडिएको जेहाद् र उनले थालेका शुद्धताका अनसनहरूसँग सरकार झुकेका दृष्टान्तहरूले नेपाली समाजमा केही नयाँ कार्यको थालनी गरेर समाजलाई अग्रगति दिने सोच क्रमशः बढिरहेको देख्न सकिन्छ ।

नेपाली समाजमा अहिलेसम्म पनि यस्ता व्यक्तित्वहरू यत्रतत्र लुकेर बसेका छन् । खुट्खबर भएकै छैन । हाम्रो अहिलेको सबैभन्दा ठूलो शक्ति नै सूचना हो । मिडिया, मास मिडिया र सोसल मिडियाजस्ता सञ्चार माध्यमले सूचना र समाचार सम्पे्रषणलाई निरन्तर प्रवाह गरिरहेका छन् । छापा र विद्युतीय माध्यमहरूले यी र यस्ता प्रकारका प्रभावकारी समाचारलाई बढावा दिई तिनीहरूको निरन्तर अनुगमन गर्दै जाने र बेलाबेलामा सरकारलाई दबाव दिने हैसियत बनाएका राष्ट्रिय र अन्तर्राष्ट्रिय हाँचका लेखक, स्तम्भकार एवम् पत्रकारहरूले सुबाटो देखाउने हो भने अब यो खुला समाजमा अनेकौं मार्ग भएर चेतना र विकासलाई समाजमा स्थापित गर्न सकिन्थ्यो ।

देशलाई अघि बढाउन केही सुझाव :
जति प्रदेशमा मुलुक बाँडिन्छ, त्यति नै प्रदेशमा ठूल्ठूला अस्पतालहरू स्थापना गर्ने । जनताको स्वास्थ्य बीमा गरी सबै प्रकारका रोगमा निःशुल्क, न्यूनशुल्क र सामान्य शुल्कमा उपचारको व्यवस्था गर्ने ताकि सामन्य नेपालीले उपचारका अभावमा मर्नु नपरोस् ।

स्थापित नवगठित प्रदेशमा नेपाली कच्चा पदार्थमा आधारित, नेपाली सीपोन्मुख प्रमुख खाद्य पदार्थ, दालहन, तेलहन, जडिबुटी र वन पैदावारसँग सम्बन्धित उद्योगका बारेमा विविध अनुसन्धान र लघु एवम् दीर्घ प्रयोगात्मक शैलीमा अध्यापन हुने नयाँनयाँ विश्व विद्यालयहरूको स्थापना गर्नुपर्छ । नेपालमा बाँस विश्वविद्यालय, मकै विश्वविद्यालय, माछा विश्वविद्यालय, पशुपंक्षी विश्वविद्यालय, कीट विश्वविद्यालय, जङ्गली÷घरेलु जडिबुटी विश्वविद्यालय, हिमाल आरोहण÷पदयात्रा÷होमस्टे विश्वविद्यालय, नेपाली कागज विश्वविद्यालय, मिथिला चित्रकला÷थाङ्का विश्वविद्यालय जस्ता अनेक नाम, कार्यप्रकृति र विषयमा अध्यापन गर्न गराउन सकिन्छ ।

पारम्परिक विषयका अध्यापनलाई जारी राख्दै ‘प्लस टु’ बाट अब १८ वर्ष टेकेका विद्यार्थीलाई जीवनोपयोगी सिप र कमाइ हुने वर्कसप, मोबाइल र टेलिभिजन मर्मत, ठेट नेपाली खानाखाजा, नेपाली सबै जनजातिका खाजाका परिकारहरू, नेवारीका ऐला, छोइला, कचिला, योमोरी, जाँड, पूर्वी नेपालका राजवंशीका भक्का, चितवनका तास, हेटौंडाका चटपटीले ससाना समूह निर्मित उद्योगबाट उत्पादित हुन कहिले पाउने ?  राष्ट्रिय योजना आयोगका योजनाकारका दिमागमा यी र यस्ता कुराहरू कहिले घुस्छन् ? कहाँ प्रश्न गर्ने हो यस्ता कुरा सोच्नेहरूले ?

नेपालमा भएको सहरी प्रदूषण, नदीको फोहोर, कीटाणुजन्य पानी, रोगका वैविध्यता, विषाक्तता, अस्तव्यस्त नगरोन्मुख बजारीकरणका विषयमा पनि संसारका नामचलेका विश्वविद्यालयसँग एकीकृत कार्यगत एकता गर्दै अध्ययन गराउने अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रहरूको नेपालमै स्थापना गर्न सकिन्छ ।

‘नेपाल अन्तर्राष्ट्रिय रिसर्च सेन्टर’ नामका नेपालमा मात्र हुने अनुसन्धान लोकबाजा, लोकनृत्य, लोक पहिरन, लोककथा, मिथक, भूतप्रेत, ऐतिहासिक पात्र, पुस्तकका कालजयी पात्र, सुविख्यात् खेलाडीहरू, चलचित्रका नायकनायिका जस्ता बजार र सामयिक विषयमा एनिमेटेड सिनेमा र चित्रकथा साथै कमिक्सका एकीकृत उद्योगहरू कहिले स्थापना हुने ?
नेपाली समाजमा रहेका गुन्द्रुक, सिन्की, मस्यौरा, तितौरा, फुरौला, खिर, रोटी, अचार, कुभिण्डोका मोरब्बा, खेलौना, डाको, डालो, पस्मिना, ढाकाकपडा, नेपाली चिया, कफी, फूल, फलफूलजस्ता कुटीर उद्योगमा लाखौं वृद्धवृद्धा र महिलाहरूका श्रम र सिपलाई तालिम र कार्यशालाको माध्यमबाट स्थानीय, केन्द्रीय र अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने अतुल सम्भावना नेपाली समाजमै निहीत छ ।

सबैभन्दा ठूलो कुरा त हामीले सगरमाथाको पानी र बुद्ध तथा सीताभूमिका माटोलाई प्लाष्टिक र नरम धातुका मूर्तिसँगै निर्माण गरेर विश्व बजारमा प्याक गरेर बेच्ने हो भने नेपालीको काम र नेपालको नाम चम्कन बेर लाग्दैन । यसको लागि देशले खाका मात्र बनाउनु पर्छ । विश्वमा छरिएर बसेका एन्आर्एन् नेपालीहरू एकसे एक मात्रामा लगानी गर्न तत्पर हुनेछन् । तर त्यसमा वैदेशिक लगानीको सुनिश्चितता हुने राजनीतिक स्थायित्व खै ? कहिले आउँछ ?

तर यसो हुन अहिलेको राजनीतिक माहोलमा आमूल परिवर्तन हुनु जरूरी छ । अहिलेका बिरामी र संकीर्ण सोच भएका नेताहरूका बुते यस्तो आमूल परिवर्तनकारी कुरा हुन सक्दैन ।

नयाँलाई नयाँ तबरले काम गर्न दिएर देशलाई बनाउन चाहने हो भने नेपाल साँच्चै ‘नयाँ नेपाल’ बन्छ । चौतर्फी नयाँ गर्न सक्नेलाई अब पुरानाले स्वागत् गर्नै पर्छ । यो पनि छैन । त्यो पनि हुँदैन भन्ने सोचमा ‘घुमीफिरी रुम्झाटार’ भन्ने उखान मात्रै दोहोरिने हो भने फेरि भविष्यमा नयाँनयाँ असन्तुष्टिका शैलाबहरू उठ्ने पक्का छन् ।

नत्र हो भने इतिहासमा ‘ने’ मुनिले पालित गरेको नेपाल प्रकारान्तरले अहिले ‘एस् डि मुनि’ का सल्लाहका भरमा पेण्डुलम् झैँ विश्व रङ्मञ्चमा हल्लिरहन बेर छैन ! अहिलेको खाँचो स्रोतको होइन नकि सकारात्मक सोचको हो । अब सोचको परिवर्तन खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्