
वासिङ्टन, वैशाख ३ । अमेरिकी विदेशमन्त्री जोन केरीले रुसले बिना अनुमति अमेरिकी आकाशमा रुसी विमान उडाएको भन्दै आपत्ति जनाएका छन् ।
उनले अमेरिकाले चाहेको भए उक्त विमान खसाल्न सक्ने भन्दै रुसलाई चेतावनी दिएका छन् । अमेरिकाको अनुमति बिना जानाजान अमेरिकी आकाशमा विमान उडाएर रुसले अमेरिकालाई खुलेआम धम्की दिएको भन्दै केरीले यस्ता हर्कतले अमेरिका नडग्मगाउने बरु यसले रुसलाई नै बेफाइदा हुने चेतावनी दिएका हुन् ।
अमेरिका र रुसबीचको तनावबारे प्रतिक्रिया दिंदै केरीले रुसलाई सचेत रहन आग्रह गरे ।
यसअघि रुसी विमान र हेलिकप्टरले अमेरिकी आकाशमा बारम्बार चक्कर लगाएको थियो । रुसी विमान आफ्नो आकाशमा देखिएपछि अमेरिकी अधिकारीहरुले विमान नउडाउन अंग्रेजी र रुसी भाषामा चेतावनी दिए पनि रुसी विमान चालकले बेवास्ता गर्दै विमान उडान कायमै राखेका थिए ।
अमेरिकी गठबन्धन देशहरुबीच हेलिकोप्टर र अमेरिकी मिसाइल विध्वंशक विमानबीच आपतकालिन अभ्यास चलिरहेकै बेला रुसले आफ्नो विमान अमेरिकी आकाशमा पठाएकोमा सनसनी मच्चिएको हो ।
समुद्रमा हुन सक्ने सम्भावित घटना रोक्न अमेरिका र रुसबीच सन् १९७० मा भएको सम्झौता रुसले उल्लंघन गरेको अमेरिकी ठहर छ । रुसले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्