
पोखरा, वैशाख ६ । विभागीय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी पाँचौ मनकामना केबलकार पोखराकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा थ्रीस्टार क्लबलाई १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा विमल रानाको एकमात्र गोल नै निर्णायक बन्यो ।
खेलको ६१औं मिनेटमा सन्तोष तामाङको फ्रि–किकलाई रानाले हेडमार्फत् गोल गरेका थिए । आर्मीले थ्रीस्टारलाई पोखराको मैदानमा हराएको यो तेस्रोपटक हो ।
पोखराकपमा पहिलो संस्करणको उपविजेता आर्मीले अब फाइनल प्रवेशका लागि धरान एफसी र दिल्ली एफसी भारतबीच मंगलबार हुने खेलको विजेतासँग वैशाख ९ गते प्रतिस्पर्धा गर्नेछ ।
यसअघिको खेलमा जित हासिल गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब र मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
एन्फा कास्कीद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्