
काठमाडौं, वैशाख ६ । सम्भवतः टेस्ट खेल्ने १० राष्ट्रपछि विश्वमा सबैभन्दा बढी क्रिकेट समर्थक भएको राष्ट्र हो नेपाल ।
त्यसैले होला, घरेलु क्रिकेट चरम विवादमा रहेको बेलामा पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नामिबियाविरुद्धको खेल नेपालमै आयोजना गर्यो ।
सदाझैं, यसपटक पनि नेपाली क्रिकेट खेलाडीहरुले सिंगो राष्ट्रको सद्भाव जित्दा लाखौं क्रिकेटप्रेमी नेपाली यसको साक्षी बने ।
थोरै लगानिमा पनि अपार सफलता, निराशै–निराशामा डुबेको नेपाली खेल जगतको एउटै आशा, भौतिक पूर्वाधारको अभावमै भएपनि थामी नसक्नु दर्शकहरुको क्रेज, त्यसैलाई साक्षीराख्दै बारम्बार हात पारिएको सफलता, सायद नेपाली क्रिकेटको एउटा बेग्लै परिभाषा हो यो ।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नामिबियाविरुद्धको खेल नेपालमा आयोजना गर्न हच्किएको आइसीसी अन्ततः नेपालमै खेल आयोजना गर्ने निर्णयमा पुग्नु आज आएर सार्थक देखिएको छ ।
हजारौं क्रिकेट समर्थकहरुमाझ नेपालले नामिबियालाई हराउँदा नेपाली खेलाडी र खेलप्रेमीसँगै आइसीसी पनि रमाएको छ, कमजोर आर्थिक हैसियत भएको सानो मुलुक नेपालमा क्रिकेटको क्रेज देखेर ।
यसपटक पनि नेपाली क्रिकेट खेलाडीलाई समर्थहरुले पूरै साथ, समर्थन र हौसला दिँदै जितको मनोवैज्ञानिक आधार तयार पारे ।
नामिबियाविरुद्धको खेलले नेपालमा अन्तर्राष्टिय क्रिकेटका गुमेका प्रतियोगितालाईमात्रै फर्काएको छैन, नेपाली क्रिकेटमा नयाँ सम्भावनाको जग बसाएको छ ।
त्यसैले त कप्तान पारस खड्का पनि यो जितपछि निकै खुसी छन् । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्