२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


थाइल्यान्डको बालक फसेको गुफा अब संग्रहालय बन्ने


0
Shares

काठमाडौं, असार २८ । थाइल्यान्डमा दुई सातासम्म १२ जना बालक र उनीहरूका फुटबल प्रशिक्षक फसेको ताम लुंग गुफालाई संग्रहालयमा परिणत गरिने भएको छ ।

उद्धारमा संलग्न अधिकारीहरूकाअनुसार त्यहाँ सम्पूर्ण उद्धार अभियान देखाइनेछ ।

कम्तीमा दुई कम्पनीले त्यसको कथालाई फिल्ममार्फत् देखाउने प्रयास गरेका छन् ।

ताम लुंग थाइल्यान्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएकाले पर्यटक खासै जाँदैनन् ।

थाइल्यान्डका पूर्वगर्भनर एवं उद्धार अभियानका प्रमुख नारोङसाको सोटानोकर्नले यस क्षेत्र अब जीवित संग्रहालयकारूपमा अन्तरक्रियात्मक तथ्यांक भन्डारकारुपमा खडा गरिने जानकारी दिए ।

उनले यो गुफा अब थाइल्यान्डको अर्को महत्वपूर्ण आकर्षण बन्ने बताए ।

प्रधानमन्त्री प्रायुथ जनोचाले भने गुफाभित्र र बाहिर पर्यटकलाई सुरक्षित राख्ने सावधानीका उपाय अपनाइनुपर्नेमा जोड दिएका छन् ।

उद्धार सम्पन्न हुनुअगावै प्रेरणादायी इसाई चलचित्रहरू बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माता त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरूसँग सम्भावित फिल्मका लागि अन्तर्वार्ता गरिराखेको जनाएको थियो ।

तर, लस एन्जलसको अर्को कम्पनी इभान्होई पिक्चर्सले पनि आफूलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि औपचारिकरूपमा छानेको जनाएको छ ।

१२ स्कुले बालक र उनीहरूका प्रशिक्षक गत जुन २३ मा उक्त गुफामा गएका थिए । उनीहरुलाई १७ दिनपछि सकुशल उद्धार गरिएको हो । (एजेन्सी)