गौशाला, जेठ ४ । महोत्तरी जिल्लाबाट एनेकपा माओवादीकी पूर्व सभासद् बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।
जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८÷१० जनाको अज्ञात समूहले उनलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए ।
घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी छन् भने उनको अवस्था चिन्ताजनक रहेको छ ।
गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी उनलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएका थिए भने अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरु पासवानको भनाई छ ।
उनी हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुगेकी छन् । उनको उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको जनाएका छन् ।
सभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन भने जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ । (रासस)










प्रतिक्रिया दिनुहोस्