२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


निर्माण व्यवसायीहरु आक्रोशित


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २९ । विकास निर्माणको कार्यमा ढिलासुस्ती हुनुमा राज्य पनि जिम्मेवार रहेको प्रदेश नम्बर–७ का निर्माण व्यवसायीले आरोप लगाएका छन् ।

मंगलबार धनगढीमा पत्रकार सम्मलेन गर्दै राज्यपक्षबाट सबैभन्दा बढी ६० प्रतिशत, निर्माण व्यवसायीबाट २५ प्रतिशत र १५ प्रतिशत अरु पक्षबाट कमी–कमजोरी हुने गरेको ठोकुवा उनीहरुले गरे ।

गृहमन्त्री रामबहादुर थापाले निर्माण व्यवसायीहरुका विषयमा दिएको अभिव्यक्तिप्रति कैलालीका व्यवसायीहरुले आपत्तिसमेत जनाएका छन् ।

गृह प्रशासनले व्यवसायी तर्साउने काममात्रै गरिरहेको आरोप लगाउँदै नेपाल निर्माण व्यवसायी संघ प्रदेश नम्बर–७ प्रादेशिक समितिका अध्यक्ष मदन कुँवरले समस्यालाई सरकारले पनि बुझ्नुपर्ने जिकिर गरे ।

निर्माण व्यवसायीलाईमात्रै दोष दिएर नहुने उनको भनाइ थियो ।

उनले निर्माण व्यवसायीहरुलाई कानुनअनुसार कारबाही गरे कुनै आपत्ति नहुने बताए ।

अध्यक्ष कुँवरले ‘सरकारले निर्माणको ठेक्का दिँदा आफ्नै गल्तीले पटक–पटक सर्वे, डिजाइनहरु परिवर्तन गर्दा हुने तर ठेकेदारले समयमा काम गरेन भनेर चोर र ठग भन्दै पक्राउ गर्न निर्देशन दिने कहाँको नियमसंगत हो ?’ भने ।

‘राज्यले सडक पिच गर्न टेन्डर निकाल्छ । तर, त्यही सडकमा पर्ने रुखहरु हटाउन पहल गर्दैन’ भन्दै उनले ‘समयमा काम सम्पन्न भएन भनेर निर्माण व्यवसायीहरुलाईमात्रै आरोप लगाउन पाइँदैन’–भने ।

गृहमन्त्री थापाले समयमा निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएपछि यहाँका निर्माण व्यवसायीहरु आक्रोशित भएका हुन् ।