१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


चीनका प्रजातन्त्रवादी अभियानकर्मी चिनलाई १३ वर्ष जेल


0
Shares

काठमाडौं, असार २७ । चीनका प्रजातन्त्रवादी अभियानकर्मी चिन योङ मिनलाई राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ ।

६४ वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन् ।

मध्य चीनको वूखान सहरस्थित एउटा अदालतले चिन योङलाई दोषी ठहर गरेको हो । उनी डेमोक्रेसी पार्टीका सहसंस्थापक हुन् ।

सन् १९९८ मा औपचारिकरुपमा दल दर्ता गराउन खोजेपछि उनलाई १२ वर्ष जेल सजाय सुनाइएको थियो । त्यसको एक वर्षपछि जेलमै रहेका बेला उनी नोबेल शान्ति पुरस्कारका लागि मनोनीत भएका थिए ।

सन् २०१५ को जनवरीमा पक्राउ पर्ने बेला उनले प्रजातन्त्र पक्षधर चाइना ह्युमन राइट्स वाचको नेतृत्व गरिरहेका थिए ।

चिनियाँ सरकारका आलोचक नोबेल शान्ति पुरस्कार विजेता लिउ सियाओपोकी श्रीमतीले बेइजिङ छाडेको भोलिपल्ट चिन योङलाई जेल सजाय सुनाइएको खबर सार्वजनिक भएको हो ।

लिउले सन् २०१० मा नोबेल शान्ति पुरस्कार पाएका थिए । त्यसयता उनकी ५७ वर्षीया श्रीमती लिउ सियालाई बेइजिङस्थित निवासमा नजरबन्दमा राखिएको थियो ।

उनलाई राज्यविरुद्धको षड्यन्त्र गर्न उक्साएको आरोपमा सन् २००९ मा जेल सजाय सुनाइएको थियो । गत वर्ष कलेजोको क्यान्सरका कारण उनको निधन भएको थियो । (एजेन्सी)