Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


मृत्युको मुखमा पुगेपछि आमालाई एसएमएसबाट सन्देश


0
Shares

वासिंटन, जेठ ३२ । अमेरिकाको ओर्लान्डोस्थित लाइट क्लवमा भएको हमलामा मारिएका एक व्यक्तिले मृत्युको मुखमा पुग्दा आफ्नी आमासँग एसएमएसमार्फत घटनाको जानकारी गराएको तथ्य प्रकाशमा आएको छ ।

एडी जस्टिस नाम गरेका ३० वर्षीय ती व्यक्तिले आफ्नी आमालाई एसएमएसमार्फत आफू मृत्युको मुखमा पुगेको जानकारी गराएका हुन् । उनले आफ्नो प्राण रहुन्जेल आमासँगै एसएमएसबाट कुरा गरिरहेका थिए ।

एडीकी आमाले आफ्नो छोराको एसएमएस सार्वजनिक गरेकी हुन् । पत्रकारमाझ छोराले जीवनको अन्तिम समयमा आफूलाई गरेको एसएमएस उनले सार्वजनिक गर्दै भनिन्, ‘अचानक एसएमएस आउन बन्द भयो, अखिर उसले संसार छाडिसकेछ ।’

त्यसदिन एडीले आफ्नी आमालाई पहिलो एसएमएस पठाउँदै भनेका थिए, ‘म बाथरुममा थुनिएर बसेको छु ।’

उनले आमासमक्ष प्रहरीलाई खबर गरिदिन भनेका थिए ।

उनले आमालाई एसएमएस गर्दै भने, ‘आमा म तपाईलाई माया गर्छु ।’

आमाले सोधिन्, ‘तिमी ठिक छौ ?’

लगत्तै उनले अर्को एसएमएस पठाए, ‘ऊ आइरहेको छ, म मर्दैछु ।’

आमाले एडीलाई सोधिन्, ‘तिमी कुन बाथरुममा छौ, अरु मानिस घाइते छन् ?’

जवाफमा उनले आमालाई भने, ‘हो, धेरैजना घाइते छन् ।’

आमाले सन्देशमा भनिन्, ‘प्रहरी त्यहाँ पुगिसकेको छ ।’

एडीले अर्को सन्देश पठाउँदै भने, ‘ऊ आतंककारी हो ।’

आमाले फेरि सोधिन्, ‘ऊ पनि तिमीसँगै छ ?’

जवाफमा उसले भन्यो, ‘हो ।’

त्यसपछि एडीले कुनै सन्देश पठाएनन् । उनकी आमाले पत्रकारहरुसँग भनिन्, ‘उसको अन्तिम सन्देश त्यही थियो ।’ (एजेन्सी)