‘छोरा–बुहारीको सधैंको कचकचले’ विष सेवन, श्रीमतीको मृत्यु, श्रीमान् अस्पतालमा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


‘छोरा–बुहारीको सधैंको कचकचले’ विष सेवन, श्रीमतीको मृत्यु, श्रीमान् अस्पतालमा


0
Shares

डडेल्धुरा, असार १६ । डडेल्धुराको चिपुर गाविसका एक बृद्ध दम्पतीले विष सेवन गर्दा श्रीमतीको मृत्यु भएको छ ।

छोरा–बुहारीको सधैंको कचकच सहन नसक्दा चिपुर वडा नम्बर–२ का ६५ वर्षीय शंकर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवनबाट धनादेवीको मृत्यु भइसकेको छ भने उनका श्रीमान् शंकरको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

घरमा छोरा–बुहारीसँगको मनमुटावपछि बृद्ध दम्पतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोरा–बुहारीले सधैं मानसिक यातना दिने गरेका कारणले विष सेवन गरेको उपचारमा रहेका शंकरले बताएको कुरा उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरुले मुसा मार्ने आषधि र नोभान नामक विषादी डिस्टिल वाटरमा मिसाएर सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दाफाँटका प्रहरी नायब निरीक्षक करवीर ऐरले जानकारी दिए ।

पछिल्लो समयमा डडेल्धुरामा आत्महत्या गर्नेको संख्या बढिरहेको छ । रासस