भाव, अभाव र प्रभाव « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


भाव, अभाव र प्रभाव


0
Shares

पेशल आचार्य –
हरेक सचेत मानिस तीन चिजले आफ्नो व्यक्तित्व निर्माण गर्दछ –भाव, अभाव र प्रभाव । यी तीनवटै चिज सर्वप्रथम उसले आफ्नो परिवारबाट ग्रहण गर्दछ । साथी भाइहरूबाट सापट लिन्छ । विद्यालय वा विश्वविद्यालयमा गएर सिक्छ । हेरेर, भोगेर र गरेर सिक्छ । शिक्षाका आधुनिक सिद्धान्तमा पनि ज्ञानीहरूले यिनै तीन तत्वलाई सूत्र बनाएर भनेका छन् ।
सिक्न या नयाँ ज्ञान हाँसिल गर्न पुरानो कुरालाई बिर्सनु पर्छ । धोक्रो खाली नपारी नयाँ सामल राख्ने ठाउँ कसैको हुँदैन ।
यसर्थ संसार नै भावले बनेको हो । सन्त र ज्ञानीहरू यसै भन्छन् । जीवनमा अभाव नभई कोही पनि दुःखको आरनमा खारिन सक्दैन । भनिन्छ –दुःख गुरु र सुख चेलो हो । गुरुले दिन खोज्छ चेलाले लिन । असल गुरु र पितामा कुनै भेद् हुन्न ।
 प्रभाव संसारको मनोविज्ञान हो । पहिले आफूले नजिकका मानिसबाट अनुकरण गर्ने हो । अनि त्यसपछि शनैःशनैः ज्ञानको क्षितिज बढाउँदै गएर दृष्टिकोणको दायरा दिग्दिगन्तसम्म फराकिलो पार्दै जाने हो ।
आविष्कार भनौं या सिर्जना, निर्माण भनांै या कल्पना यी सबै काम कुरामा भाव, अभाव र प्रभावको भूमिका जोडदार रुपमा हुने गर्छ । पीडाका झरीमा नरुझी आँसु खस्दैन । आँसु नै समूल सभ्यताकी जननी हुन् ।
संसारको सार भनेको मुक्ति हो । सबै प्रकारका सनातन परम्पराका सिकन्जाबाट मुक्ति चाहनु मानिसको चाहना हो । चाहे धर्म होस् या विचार, संकुचन संस्कार होस् या बेबहार । पाखण्डका मेखाला हुन् या पर्मका पन्याला च्यादर च्यात्नै पर्छ । मानिसले अहिलेसम्म गरेका सबै प्रकारका शालीन द्रोह या खम्भीर विद्रोहमा यिनै जडहरूका विरुद्ध क्रान्ति कबोलेको छ । हतियार उठाएको छ । हुङ्कार गर्जेको छ ।
दुनियाँका सबै सफल र असल मानिसहरू कि त गरिब घर परिवारबाट उठेका छन् । कि त दुःखका महासागरमा पौरी खेलेकाहरू नै छन् । मन्डेला भनौं या अब्दुल कलाम । गान्धी भन या माक्र्स, चार्ली च्यापलिन भन या सेक्सपियर सबैसबै अभावका पर्याय हुन् । दुःखका पुरिया हुन् । अभावले आवश्यकतालाई निम्ता दिन्छ । आवश्यकता नै आविष्कारकी जननी हुन् ।
संसार जित्ने मानिस घरमा हारेको इतिहास साक्षी छ । रुप र सारको लडाइँमा अन्ततोगत्वा सारले जितेको छ । संसारमा सारको खोजीमा दुईवटा बाटाहरू छन् । एउटा षनानन् कुमारको जस्तो घुमाउरो बाटो अर्को लम्बोदर गणेशको जस्तो छोटो बाटो । जो जताबाट गए पनि आफ्नो गन्तव्यमा पुगेको छ । भलै फल गणेशको पोल्टामा परे पनि ।  
सन्तान शिक्षित भए पनि बाबुआमा रित्तै, सन्तान निरक्षर भए पनि बाबुआमा रित्तै । जुनै समयको मानिस पनि चराको नियति बाँच्न विवश छ । अहिलेको समयमा सन्तान नपढाउने एउटा मात्रै विषयका दुखी होलान् तर सन्तान पढाउने बाबुआमाहरू अनेक विषयले दुःखी भएका छन् । मानिस आफूमा अनन्त शक्ति र प्रतिभा भएर बाहिरबाहिरै खोजी हिँड्छ । कस्तूरी नियतिमा मनुवा भौंतारिन्छ । उसलाई आफ्नो प्रतिभाको ज्ञान हुँदैन । प्रत्येक मानिस अरुले हौस्याएपछि मात्र काम गर्न थाल्छ । हरेक मानिसमा अनन्त सीप र ऊर्जा समाहित छ तर अरु कसैले त्यो देखाइदिनु पर्छ । हनुमानलाई परायाले उनको बलको हेक्का दिलाएझैँ ।
मानिस तीन प्रकारका  हुन्छन् –स्वार्थी, परार्थी र परमार्थी । स्वार्थी आफ्ना लागि मात्र बाँच्छ । परार्थी केही कार्य अरुका लागि र समाजका लागि पनि गरेर बाँच्ने गर्छ तर परमार्थी आफूलाई नामेट गराएर सँधैभरि अरुका लागि नै बाँच्ने गर्छ । परमार्थी मानिसहरू महामानव हुन् । बुद्ध, जिजस, मोहम्मद र कृष्णजस्ता लौकिक या अलौकिक पात्रहरू महामानव हुन् । हामी उनान्सय प्रतिशत मानिसहरू स्वार्थी छौं ।  
संसारलाई चलायमान गराउने साधन भनेका तीन चिज छन् –पावर, मनि र सेक्स । यी तीनचिज बाहेक अहिलेसम्म संसारमा चौथो चिज देखिएको छैन । पावर भनेको ब्रह्मा हून । मनि भनेका विष्णु हुन् । उनैकी पत्नी लक्ष्मी धनधान्यकी देवी भनी पुकारिन्छिन् । अनि सेक्स भनेका महेश हुन् । सेक्सबाटै संसारको सृष्टि आरम्भ हुन्छ । समागम पश्चात् ब्रह्माको कार्यादेश लागू हुन्छ । यो गोलचक्करमा मानिस हजारौं वर्षदेखि घुमिरहेको छ । अझै हजारौं वर्ष घुमिरहने छ ।
जुनसुकै मानिस पनि सफल र असल हुन चाहन्छ । असल मानिस सफल हुन सक्छ तर सफल मानिस अरुका लागि असल नहुन पनि सक्छ । दुवै भयो भने संसारमा उसको कृति र कीर्ति दुवै रहन्छ ।
जीवन भन्ने कुरा बुझ्न थाल्दा मानिसको आधा जीवन सिद्धिसकेको हुन्छ । आमा, बाबु, पत्नी, मित्र, प्रेम, जीवन, मृत्यु, संसार, मुक्ति, दया, माया र रिसजस्ता सामान्य देखिने र लाग्ने शब्दका गूढार्थ जीवनभरि लगाए पनि सिद्धिदैन । जति सरल शब्दहरू हुन्छन् तिनीहरूका अर्थ पनि त्यति नै जटिल हुन्छन् । ओखरको नियतिमा संसार चल्छ ।  
बाबु छोरो मजस्तो होस् भन्ने चाहन्छ तर उसैको छोरो सँधै म बाबुजस्तो कहिल्यै नहौं भन्छ । द्वन्द्वको यही विन्दुबाटै विकासको आरम्भ हुन्छ । आफूतिरबाट देखिएको सुल्टो र ठीक कुरा पनि अरुका दृष्टिबाट उल्टो र बेठिक देखिन्छ । मानिस आफूलाई एक र अन्य संसारका सबै मानिसलाई आधा देख्छ । त्यसैले संसारमा डेढ अक्कल भन्ने पदावलीको सिर्जना भएको हो ।
ज्ञानी, गुनी र ठूला मानिसहरू जता लाग्छन् जीवनको बाटो त्यही हो । मानिस अरुको देखेर आफ्नो पद र पथको मूल्याङ्कन गर्न खोज्छ । आजसम्म भएको पनि त्यही छ । रुप र विद्या दुवै एकै व्यक्तिसँग दुर्लभ छ । दुवै भयो भने कि त्यो अहंकारी हुन्छ कि देवत्व गुणले सम्पन्न ।
सरस्वती र लक्ष्मी सौतासौता हुन् । दुवै एकै मानिससँग प्रायः देखिन्नन् । विद्या हुने गरिब र अकूत धन हुने अविद्या भएका उदाहरण संसारमा कति छन् कति ? तरबार र कलमको छिना झप्टी संसारको आदिदेखि अन्त्यसम्मै चलिरहन्छ । कहिले तरबारले राज गरेको देखिन्छ भने कहिले कलमले सत्ता चलाएको पाइन्छ ।
तपस्यामा एकजना, अध्ययनमा दुई जना, गानामा तीनजना, बाटो हिँड्दा चारजना, खेतीपातीमा पाँचजना र युद्धमा अनेकौंजना हुनुपर्छ । चाणक्यको यो भनाइले भवसागरमा एकल र सहकार्यलाई प्रष्ट्याएको छ ।
 अन्य जीवजन्तु र पशुबाट मानिसलाई छुट्याउने एउटै चिज बुद्धि र विवेक हो । अन्य प्राणीमा यी दुवै चिज हुन्नन् । मानिसमा यी दुवै चिज हुन्छन् । सूचना बाहिरबाट भित्र र ज्ञान भित्रबाट बाहिर प्रकट हुन्छन् । हरेक मानिस ज्ञानी हुन्छन् तर तिनीहरूलाई ज्ञान प्राप्तिको मार्ग मात्र सम्झाइदिनु पर्छ । सूचना प्रविधिले सिकिन्छ भने ज्ञानका लागि आत्मशक्ति नै उत्तम हो ।
शरीरले लिएको सुख क्षणिक र आत्माले पाएको सुख दीर्घकालीन हुन्छ । हरेक प्राणी उत्सर्जनमा अधिक चाहना राख्छ । सेक्स पनि उत्सर्जनकै चरम् रुप हो ।  
भाव नै संसारको आधारशीला हो । भावको चरमा जीवनरुपि गृह निर्माण गर्न सकिन्छ । अभावले मानिसलाई बाँच्न सिकाउँछ । प्रभावले असल प्रकार्यको निर्माणमा जोड दिन्छ । अतः संसारमा यी तीन चिज नै कामयावी छन् –भाव, अभाव र प्रभाव । जसको जगमा हरेक मानिस व्यक्तिबाट उठेर व्यक्तित्व बन्न सामथ्र्य राख्छ । आजसम्मको मानव इतिहासले त्यो कुरा दृष्टान्तमा देखाएको छ ।