
फाइल फोटो
काठमाडौं, असार २९ । नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रसँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग भएको सहमतिलाई सर्वसम्मतले अनुमोदन गरेको नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
मंगलबार माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको बद्लिँदो राजनीतिक परिस्थितिकाबारेमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको थियो ।
कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संयुक्त सरकार गठन गरी अघि बढ्ने सहमति गरेको थियो ।
बैठकमा नयाँ सत्ता गठबन्धनकाबारेमा कांग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिका सम्बन्धमा केही नेताले पार्टीमा छलफल नगरी अघि बढाएको भन्दै सभापतिसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
समर्थन फिर्तापछि वर्तमान सरकार अल्पमतमा परेकाले प्रधानमन्त्री केपी शर्मा ओलीसामु राजीनामा गर्नुपर्ने, विश्वासको मत लिनुपर्ने र अविश्वास प्रस्तावको सामना गर्नुपर्ने विकल्प रहेको बैठकमा छलफल भएको थियो ।
तीनै विकल्पमध्ये राजीनामा नै उत्तम विकल्प रहेको बैठकले निर्णय गरेको उनले बताए ।
बैठकले प्रधानमन्त्री ओलीले राजीनामा गर्न ढिला गरे अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीले नयाँ बन्ने समीकरणले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षसँग वार्ता गर्ने, शान्ति–प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुंग्याउने, कालोबजारी, अभाव, महँगी अन्त्य गरी सुशासन कायम गर्नेलगायत काम अघि बढाउने निर्णय गरेको नेता बडूले बताए । रासस
सहमतिपत्र पढ्नुहोस्
प्रतिक्रिया दिनुहोस्