झापामा बाढीले ३४ घर–परिवार विस्थापित, पाँच सय बढी घर डुबानमा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


झापामा बाढीले ३४ घर–परिवार विस्थापित, पाँच सय बढी घर डुबानमा


0
Shares

झापा, साउन ६ । तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बिरिङ नदीको बाढी गाउँ पसेपछि राजगढ–२ का ३ घरपरिवार र घेराबारी ४ र ५ का २३ घर–परिवार पूर्णरुपमा विस्थापित भएका हुन् ।

बाढीको भंगालो गाउँ पसेपछि डुबान भएर विस्थापित बनेका सबै परिवारलाई राजगढ–१ को अमृत निम्न माध्यमिक विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डुबानबाट विस्थापित सबैलाई नेपाल रेडक्रस सोसाइटी झापा, स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

विस्थापितलाई नेपाल रेडक्रस सोसाइटी झापाले त्रिपाल, कम्बल र खानेकुरा वितरण गरेको छ । विद्यालयमा ७९ जनाले आश्रय लिएका छन् ।

उता, बिरिङ नदीकै बाढीले घेराबारी–३ मा तीनओटा घर भत्काएको छ ।

यस्तै, झापाको घेराबारी–४ स्थित भन्सार टोलमा बिरिङ नदी र अन्दुवा खोला पस्दा १२ घर डुबानमा परेका छन् ।

त्यस्तै, घेराबारी–५, पिन्डलबारीमा विरिङ खोलाका कारण १३ घर डुबानमा परेका छन् । यस्तै, चकचकी–४ मा नालाको पानी पस्दा ५ घर डुबानमा परेका छन् ।

त्यस्तै, राजगढ–२, डिल्लीबारी टोलामा बाढीका कारण दुई घर–परिवार विस्थापित भएका छन् ।

पहिरोमा तीन घर बगे
म्याग्दीको भकिम्ली–९ तोराखेतमा पहिरो जाँदा तीन घर बगेका छन् भने पाँच घर उच्चजोखिममा परेका छन् ।

बुधबार राति गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनओटा घर र गोठ बगाएको हो ।

पहिरो गएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।