
फाइल फोटो
काठमाडौं, साउन ७ । घरपालुवा जनावरझैं वन्यजन्तु पालन गर्न पाउने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लाई संशोधन गर्न बनेको विधेयकप्रति सांसदहरुले आपत्ति जनाएका छन् ।
व्यस्थापिका–संसद वातावरण संरक्षण समितिको शुक्रबारको बैठकमा सांसदहरुले यस्तो आपत्ति प्रकट गरेका हुन् ।
समिति सभापति जनकराज चौधरीले विधेयकका विषयमा छलफल गर्न वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलगायतका सरोकारवाला निकायलाई सहभागी गराइने जानकारी दिए ।
बैठकमा बोल्दै सांसद मदनबहादुर अमात्यले माफियाको चलखेलमा वन्यजन्तुलाई घरपालुवा जनावरझैं पाल्न पाउने व्यवस्था विधेयकमा गरिएको आरोप लगाए ।
सांसद सुरेशराज आचार्यले वनमा बस्ने वन्यजन्तुलाई पक्रेर घरमा पाल्ने विषय द्विविधायुक्त भएको बताए ।
सांसद दीर्घराज भाटले वन्यजन्तु बस्ने वनजंगल वन विभागका कर्मचारीको मिलेमतोमा नस्ट गरेर घरमा वन्यजन्तु पाल्ने प्रस्ताव विधेयकमा गरिनु आपत्तिजनक भएको विचार राखे ।
‘वनका कर्मचारी हुलाकी राजमार्ग बनाउन केही रुख काट्न रोक्छ । तर, २५ हजार हेक्टर वन फँडानी हुँदा मूकदर्शक बन्छ’–उनले भने ।
बैठकमा सांसदहरु मानबहादुर विश्वकर्मा, परशुराम तामाङ, गंगा विश्वकर्मा, सकलदेव सुतियार, सुदीपप्रकाश वाला, पार्वत गुरुङ, टुकराज सिग्देल, लीला मगर, गणेश विमली, सीता लुइँटेल (ज्ञवाली), मीनकुमारी दाहाल, कविताकुमारी सरदारलगायतले घरपालुवा जनावर पाल्ने हैसियत नभएका विपन्नको आर्थिकस्तर सुधार गर्ने नाममा वन्यजन्तु पाल्न दिने व्यवस्था हास्यास्पद हुनेमा जोड दिए ।
कार्यक्रममा द जेन गुडअल इन्स्टिच्युट नेपालका कार्यकारी प्रमुख मनोज गौतमले घरपालुवा जनावरलाई जस्तै वन्यजन्तुलाई पनि पाल्ने व्यवस्था गरिँदा पर्यावरण बिग्रने, बर्डफ्लु, स्वाइनफ्लुजस्ता रोगको प्रकोप फैलने, वन्यजन्तुले मानिसलाई आक्रमणको जोखिम बढ्ने, चोरी निकासी बढ्ने समस्या आउनेतर्फ सांसदको ध्यानाकर्षण गराए । रासस
प्रतिक्रिया दिनुहोस्