११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी


0
Shares

सर्लाही, वैशाख १२ । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ ।

स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार ६ जनाको समूहमा आएका चोरले सटर माथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकममात्र लिएर फरार भएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

६ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको छ । सटर तानेको ठाउँमा पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि भागेको सीसीटिभी फुटेजमा देखिन्छ । 

चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाल प्रहरीले सीमा नाका नजिक लगाएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

चोरीको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको उनले बताए । सामान अर्डर दिएका व्यापारीलाई दिन राखिएको पैसा चोरी भएको स्टोरका सञ्चालक शङ्कर चौधरीले बताए । (रासस)