
काठमाडौं, वैशाख ११ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अर्थतन्त्रमा उत्साह देखिएको बताएका छन् ।
तेस्रो वर्ष पनि निरन्तर उच्च आर्थिक वृद्धि हासिल हुनुले लगानीको वातावरण बनेको सन्देश पनि गएको उनको भनाइ छ ।
राष्ट्र बैंकले बुधबार आगामी बजेटका लागि सुझाव संकलन गर्न सरोकारवालाहरुसँग गरेको छलफलमा गभर्नर नेपालले उच्च व्यापार घाटा भने चुनौतीपूर्ण रहेको बताए ।
रेमिट्यान्स बढेपनि यो दीगो नहुने भएकाले उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्दै आयातलाई निरुत्साहित गर्नुको विकल्प नभएको उनले बताए ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिले आगामी बजेट आर्थिक गतिविधि विस्तार गर्नेखालको आउनुपर्ने बताएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सले व्यवसायको लागत बढेको भन्दै त्यसलाई घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पूर्वाधार कमजोर हुँदा व्यवसाय गर्ने लागत बढेको भन्दै भन्सारलगायतका क्षेत्रमा धेरै सुधार आवश्यक रहेको बताए ।
बैंकको ब्याजदरले पनि व्यवसाय लागत बढेको उनको भनाइ छ ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले आयातलाई नियमन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
वित्तीय क्षेत्रमा तरलता अभाव रहेकाले क्रेडिटमा सामान किन्न प्रोत्साहन गरिनुपर्ने उनको भनाइ छ ।
चेम्बर उपाध्यक्ष कमलेश अग्रवालले आगामी बजेट आर्थिक गतिविधि विस्तार गर्नेखालको हुनुपर्ने बताए ।
बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले लगानीयोग्य रकमको उपलब्धता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
पुँजीगत खर्च बढाएर वा अन्य कुनै उपायबाट बैंकिङ क्षेत्रमा रकम नआए आगामी वर्ष पनि लगानीयोग्य रकमको अभाव हुने उनको भनाइ थियो ।
केन्द्रीय बैंकले प्राप्त सुझाव सरकारलाई बुझाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्