
बर्दिया, साउन १४ । बर्दियामा संरक्षित कृष्णसारमा खोरेत रोग देखा परेको छ । गुलरिया नगरपालिका खैरापुरस्थित संरक्षण क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार मर्न थालेपछि परीक्षण गर्दा बाह्य पशुको संसर्गले सर्ने खोरेत रोगको संक्रमण पहिचान भएको हो ।
खोरेतका कारण हालसम्म एउटा कृष्णसार मरेको र एक दर्जन भन्दा बढी संक्रमित देखिएको संरक्षण कार्यालयले जनाएको छ ।
रोग सर्न नदिन अहिले संरक्षण कार्यालयले सर्तकता अपनाएको छ । संरक्षण क्षेत्रको मध्यवर्ती क्षेत्रका बस्तीमा रहेका पशुचौपायालाई संरक्षण क्षेत्रभित्र चरिचरणका लागि निषेध गरिएको छ ।
खोरेत लागेका कृष्णसार चरिचरण गर्न नसक्ने, उभिई रहने, ¥याल निकालेर मुख बाउने तथा खोच्याएर हिँड्ने र केही दिनपछि आफैं मर्ने गरेको पाईन्छ ।
उपचार गर्न कठिनाई भएपछि त्यस क्षेत्रमा जोतेर हिलो मार्फत् घरेलु पद्धतिअनुसार उपचार शुरु गरिएको छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेको कृष्णसारलाई २०६५ सालदेखि संरक्षण क्षेत्र कार्यालयमार्फत् संरक्षण गर्न थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्