
काठमाडौं, साउन १७ । सर्वोच्च अदालतका लागि नवनियुक्त ११ जना न्यायाधीशहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
शितल निवासमा गरिएको विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले उनीहरुलाई सपथ गराएकी हुन् ।
सर्वोच्चको न्यायाधीशमा सपथ लिनेहरुमा पुनरावेदन अदालतका मुख्य न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।
त्यसैगरी वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्लले पनि न्यायाधीशमा सपथ लिएका छन् ।
न्याय परिषद्ले सिफारिस गरेको उहाँहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्त गरेकी हुन् ।
११ न्यायाधीशको नियुक्तिसँगै सर्वोच्चमा प्रधानन्यायाधीशसँगै स्थायी न्यायाधीशको संख्या २० पुगेको छ । यस्तै पहिलो पटक सर्वोच्चमा महिला न्यायाधीशको संख्या तीन पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्