काठमाडौं ।
‘म्यानहण्ट इन्टरनेशनल नेपाल २०२६’ को उपाधि शशांक शाहीले जितेका छन् ।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले काठमाडौँमा आयोजना गरेको प्रतियोगिताको १५औँ संस्करणको भव्य फाइनलमा शाहीले मुख्य उपाधिसहित ‘मिस्टर पर्सनालिटी’ को अवार्ड समेत जितेका छन् ।
यस्तै, प्रतियोगितामा प्रसन्न राई ‘मिस्टर मोडल इन्टरनेशनल नेपाल’, सिद्धार्थ सन्ज्याल ‘मिस्टर कोस्मोपोलिटन नेपाल’ र चञ्चल शाही ठाकुरी ‘मिस्टर इको इन्टरनेशनल नेपाल’ घोषित भए ।
उपाधि विजेता युवाहरूले अब विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । यसैगरी, अन्य विधाहरूतर्फ विजय विक्रम थापाले ‘मिस्टर पपुलर’ र ‘फोटोजेनिक’, प्रणव कट्टेलले ‘सुपरमोडेल’, गगन रोकायाले ‘मिस्टर फ्रेन्डसिप’ र दिवस मगरले ‘मिस्टर ट्यालेन्ट’ को उपाधि जितेका छन् ।
प्रतियोगिताको मुख्य निर्णायकमा वरिष्ठ फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्रकार रहेका थिए भने कार्यक्रमको कोरियोग्राफी अनुप सक्सेनाले गरेका थिए ।
प्रतियोगितामा परिचय चरणपछि शीर्ष १० सेमिफाइनल चरणमा प्रवेश गरेका थिए । जसमा प्रतियोगीहरूको सञ्चार क्षमता र विचार अभिव्यक्तिको परीक्षण गर्न मौखिक प्रश्न–उत्तर चरण सञ्चालन गरिएको थियो ।
त्यसपछि शीर्ष ५ मा प्रतियोगीहरूले एउटै साझा अन्तिम प्रश्नको लिखित उत्तर प्रस्तुत गर्दै आफ्नो बौद्धिकता, विचारको स्पष्टता तथा समसामयिक चेतनाको प्रदर्शन गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्