१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


स्याउजत्रो आकारको बालकः अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने तयारी


0
Shares

टोकियो, वैशाख ६ । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।

ती बालक जन्मँदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए ।

रेयुसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिका उच्च रक्तचापकी बिरामी थिइन् ।

चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक ‘सिजेरियन’ गरी ती बालकलाई जन्म दिएका थिए ।

गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मँदा २५८ ग्राममात्र थियो ।

जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि, अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो । ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

अस्पतालको ‘इन्टेन्सिभ केयर’मा सात महिना राखेपछि रेयुसुकेको तौल १३ गुणा बढेको थियो । अहिले ती बालकको तौल तीन किलोग्रामभन्दा बढी भइसकेको छ ।

ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

‘जन्मँदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएलाजस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो’–आमा तोशिकाले बताइन् ।

‘अहिले ऊ दूध पिउँछ । हामीले उसलाई नुहाइदिन थालेका छौं । मलाई अति खुसी लागेको छ’–उनले भनिन् ।

विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मँदा उनको तौल २५२ ग्राममात्र थियो ।

अतिसाना बालबालिकाको बाँच्ने दर केटीहरुकोभन्दा केटाहरुको कम हुने गर्दछ । रासस/एएफपी