१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


गुफाबाट उद्धार गरिएका आठ जना बालक स्वस्थ्य, आज सबैको उद्धार गरिने


0
Shares

काठमाडौं, असार २६ । थाइल्यान्डको उत्तरी क्षेत्रमा रहेको थाम लुआङ गुफाबाट उद्धार गरिएका आठ जना बालक शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहेको थाई स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

हिजो र अस्ति गरि गुफाबाट निकालिएका बालकहरुको एक्स रे, रगत परिक्षण लगायतका स्वास्थ्य जांच गरिएको छ । उनीहरु मध्ये केहीले परिवारका सदस्यलाई टाढैबाट हेरेका छन् ।

स्वास्थ्य परिक्षणको सबै रिपोर्ट आएर इन्फेक्सनको समस्या नदेखिने भएपछि मात्र परिवारसंग भेट गराइने छ । दुई हप्ता भन्दा बढी समयसम्म अन्धकारमा रहेकाले उनीहरुलाई सनग्लास लगाउन दिइएको छ ।

कम्तिमा सात दिनसम्म अस्पतालमै चिकित्सकको निगरानी राखिने जनाइएको छ ।

अधिकारीहरुले गुफामा बांकी रहेका चार जना बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई पनि आजै बाहिर निकाल्न सकिने आशा व्यक्त गरेका छन् ।

गत जुन २३ मा गुफामा पुगेका उनीहरु गुफा भित्र बाढी पसेपछि त्यही फसेका थिए ।

९ दिन पछि मात्र गोताखोरहरुले उनीहरुलाई फेला पारेका थिए । ४० जना थाइल्याण्डका र ५० जना अरु विभिन्न मुलुकका गोताखोर चुनौतीपूर्ण र जटिल उद्धार अभियानमा संलग्न छन् ।

बाहिर निस्कन एक जनाको साथमा दुई जना गोताखोरको व्यवस्था गरिएको छ ।

गुफाबाट बाहिर निस्कदा पानीमै हिड्ने,चट्टान चढ्ने र डोरीको सहायतामा पौडने जस्ता तरिका अपनाउनु पर्ने हुन्छ ।

गुफाको प्रवेशद्धारबाट बालकहरु फसेको करिब ४ किलोमिटरको दूरी पार गर्न ६ घण्टा भन्दा बढी समय लाने गरेको छ ।