कमाउन साउदी पुगेका सात नेपाली जीवनमरणको दोसाँधमा • Image Khabar Image Khabar


कमाउन साउदी पुगेका सात नेपाली जीवनमरणको दोसाँधमा


Imagekhabar
२६ श्रावण २०७३, बुधबार १३:१०

कमाउन साउदी पुगेका सात नेपाली जीवनमरणको दोसाँधमा

काठमाडौं, साउन २६ । बढी समय बाँच्ने चाहना कसलाई हुँदैन ? धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेका सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन् ।

सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन् ।

मृत्यु भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे । जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन । बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा ।

नेपाली साझा मञ्चका अनुसार दुर्घटनाका कारण मारिएका मृतकका परिवारमध्ये केहीले ब्ल्डमनी माफी दिँदा समेत पहल गरिदिने निकाय नहुँदा जेलमुक्त हुन पाएका छैनन् ।

कतिपयले आफन्तमार्फत नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा हारगुहार गरेपनि सरकारी पक्षले चासो दिएको छैन । मञ्चले पीडितको तत्काल उद्धारका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दै सबैबाट पीडितहरुको उद्धारमा सहयोग गर्न अपिल गरेको छ ।

सडक दुर्घटनामा बंगलादेशी नागरिकको मृत्युको कारक बनेका सुरेश मण्डल मृतकका परिवारले मागेको ५ लाख टाका (६ लाख ८० हजार रुपैैयाँ) पनि तिर्न नसक्दा अलहमा जेलमा छन् । मण्डलले जेल जीवन बिताएको साढे ६ वर्ष भइसक्यो ।

धनुषा पुष्पवलपुर १, रतनपुरका सञ्जीवकुमार यादव साढे दुई वर्षयता जेलमा छन् । सवारी चलाउने क्रममा एक भारतीयको मृत्यु भएपछि उनलाई ज्यान मुद्दामा जेल चलान गरियो ।

सर्लाही, कर्मैया–५ का विष्णुहरि पाण्डे रियादस्थित मलाल जेलमा बसेको तीन वर्ष बढी भयो । सडक दुर्घटनाका क्रममा एक साउदी नागरिकको मृत्यु भएको मुद्दामा उनीसँग तीन लाख साउदी रियाल ब्लड मनी माग गरिएको छ ।

तीन वर्षअघि मुद्दा खारेज भइसक्दा पनि नेपाली दुतावासले पहल नगर्दा बेलबारी–८ मोरङका भीमबहादुर दाहाल पनि जेलमै छन् ।

उनी रहेकै जेलमा बुधबारे–६ झापाका मदन पन्दाक लिम्बु पनि छन् ।

सडक छेउ राखेको डोजरमा अझैं अनियन्त्रित भइ आएर ठोक्किई भएको कार दुर्घटनामा एक साउदी बालकको मृत्यु हुँदा सवारी चालक तनहुँ, दुलेगौंडा हलेसी–३ का धनबहादुर थापा मगर ताइफस्थित जेलमा छन् ।

काभ्रे, कुशादेवी–२ घिमिरेगाउँका रामचन्द्र तिमिल्सिना विगत २१ महिनादेखि हायल सेन्टर जेलमा छन् । सवारी दुर्घटनामा एक पाकिस्तानी नागरिक मारिएको र मृतकको परिवारले ब्लडमनीस्वरुप एक लाख २० हजार साउदी रियाल माग गरेका छन् । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्